मुम्बई — ‘फेसबुकबाट प्रेम नगर्नुस् अन्यथा मैलेजस्तो दु:ख पाउनुपर्ला,’ पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने ।

पाकिस्तानमा ६ वर्ष जेल सजाय काटेपछि रिहा भएका हमिद नेहाल अन्सारी आमाका साथ । तस्बिर : एएफपी

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग ‘प्रेम’ मा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछयाउँदै पाकिस्तान पुगे ।
उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे । पाकिस्तानी अधिकारीले उनले देशविरुद्ध जासुसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ वर्षको जेल सजाय दिएको थियो । उनका आफन्तहरूले उनी मायामा ‘अन्धो’ भएर पाकिस्तान प्रवेश गरेको बताएका थिए ।
‘अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत मायामा नफस्नुस्,’ अन्सारीले एएफपीसँगको कुराकानीमा भने । उनी पाकिस्तानी जेलबाट रिहा भएपछि ३ दिनअघि भारत फर्केका हुन् ।

गत मंगलबार घर फर्किएका अन्सारीले भारतीय सीमामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग अंकमाल गरेका थिए । उनले जन्मभूमिलाई पूरै घोप्टो परेर ढोगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्त्वका साथ प्रसारण गरेका थिए । उक्त दृश्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ भइरहेको छ ।
‘यो मेरो जीवनका लागि सबैभन्दा खुसीको क्षण हो,’ ३३ वर्षीय अन्सारीले भने, ‘अब एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।’

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् । उनीहरूले फरक फरक समय र परिस्थितिमा एकअर्का देशका नागरिकलाई जासुसी आरोपमा पक्राउ गर्ने र थुन्ने विषय सामान्यजस्तै देखिँदै आएको छ । एएफपी

फेसबुक कमेन्ट