‘म अपाङ्ग हुँ तर सेक्स मेरो पनि आवश्यकता हो’

फेरानक आमिदी /बीबीसी

इरानमा करिब एक करोड मानिस कुनै न कुनै अपाङ्गताबाट ग्रस्त छन् । रुढीवादी देश इरानमा सेक्सजस्तो विषयमा कुरा गर्न वर्जित छ । यस्तोमा अपाङ्गता भएका महिलाको विषयमा सेक्सबारे सोच्न पनि सकिँदैन ।

उत्तरी इरानको एउटा सानो गाउँमा बस्ने ४१ वर्षकी अपाङ्गता भएकी महिला मितरा फराजदाहले आफ्नो अनुभव र निराशाबारे कुरा गरेकी छिन् ।

उनी भन्छिन्, ‘म एक महिला हुँ । म एउटा यस्ती महिला हुँ जो ७५ प्रतिशत शारिरिक अपाङ्गताबाट ग्रस्त छु । हो, मैले प्रेमको अनुभव गरेकी छु । म सधैं भन्ने गर्छु कि जसले कहिले पनि प्रेमको अनुभव गरेका छैनन् वा प्रेममा परेका छैनन् उनीहरु खेतमा चराहरुलाई डराउनका लागि राखिने पुतलीजस्तै हुन् । ’

११ वर्षको उमेरमा प्रेमः

मितराका अनुसार उनी ११ वर्षको हुँदा आफ्ना एक छिमेकीका छोराका लागि विशेष भावना महसुस गरेकी थिइन् । उनी भन्छिन्, ‘यो भावनाको अर्थ मैले त्यतिबेला बुझ्न सकेकी थिइनँ ।’

उनी भन्छिन्, ‘त्यतिबेला म आफूलाई मान्छे नै होइन ठान्थें । अपाङ्गताका कारण मेरो बाँच्ने अधिकार नै छैन जस्तो लाग्थ्यो । म मृत्युको प्रतिक्षा गरिरहेकी थिएँ ।’

मितराका अनुसार १४ वर्षसम्म उनले आफ्नो प्रेम लुकाएर राखिन् । उनी भन्छिन्, ‘१४ वर्षको हुँदा मैले ती व्यक्ति र आफ्नो परिवारलाई यसबारे बताउने हिम्मत गरेँ । ती व्यक्तिले त मेरो प्रशंसा नै गरे तर उनको परिवारले यसमा स्विकारोक्ति दिएन । ’

‘केही वर्षसम्म त जिन्दगी नरकजस्तो भयो तर उनको प्रेमले मलाई आफूलाई नै प्रेम गर्न सिकायो ।’

‘ती व्यक्तिसँग मैले ३० वर्षसम्म प्रेम गरेँ । यद्यपी, हामी कहिले पनि सँगै बसेनौं । म एक महिला हुँ जसलाई ती सबै कुराको आवश्यकता पर्छ जो एक महिलालाई हुन्छ ।’

सेक्स आवश्यकताः

मितरालाई उनका प्रेमीले अँगालोमा बाँधुन् र उनको कपाल खेलाउन् भन्ने चाहना छ । उनी भन्छिन्, ‘हाम्रो समाजमा यस्ता थुप्रै मानिसहरु छन् जसले सोच्छन् कि हामीजस्तो महिला प्रेमको लायक नै छैनन् । यो सुन्दा मलाई पीडा हुन्छ ।’

उनी भन्छिन्, ‘म जसलाई प्रेम गर्छु, उनीसँग बस्न मेरा पिताले अनुमती दिँदैनन् । मजस्तै थुप्रै महिला यौन र भावनात्मक आवश्यकतालाई दबाएका कारण पीडित छन् ।’

‘म मान्छु कि सबैभन्दा ठूलो परिवर्तन हामी भित्रैबाट आउँछ । हामीले आफ्नो यौन आवश्यकता र सीमालाई स्विकार गर्नुपर्छ ।’

मितरा आफ्नो पेन्टिङ बेचेर गुजारा गर्छिन्

मितरा भन्छिन्, ‘हामीले विश्वास गर्नुपर्छ कि हामी पूर्ण रुपमा बाँच्नका लागि हकदार छौं । हामीले अपाङ्गताको वास्ता नगरी यसको पूरा आनन्द लिनुपर्छ ।’

‘मैले अपाङ्गता भएका थुप्रै महिलालाई चिनेकी छु जसको परिवार यो कुराबाट अञ्जान छन् कि उनीहरु पनि यौन प्राणी हुन् किनभने यी महिला आफैं पनि यो कुरामा विश्वास गर्न सकिरहेका छैनन् । यदि तपाईं पनि प्रेमको हकदार हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्न सक्नुहुन्नँ भने तपाईंको परिवारले कसरी विश्वास गर्नेछ ?’

यौन आवश्यकता पूरा नहुनु हानिकारकः

मितरालाई आफ्नो भावना र आवश्यकतालाई जाहिर गर्न पाउँदा गर्व भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘अहिले पनि धेरै मानिसहरु यो कुरामा विश्वास गर्छन् कि अपाङ्ग महिलाले आफ्नो यौन र भावनात्मक आवश्यकता व्यक्त गर्नु हुँदैन तर सत्य भने फरक छ ।’

अपाङ्गता भएका मानिसहरुको यौन ऊर्जा सामान्य मानिसभन्दा धेरै हुने मितरा बताउँछिन् । उनी भन्छिन्, ‘म जस्तो व्यक्तिका लागि यो सम्भव छैन किनभने मलाई गम्भीर शारिरिक अपाङ्गता छ ।’

मितरा भन्छिन्, ‘यदि अपाङ्गता भएका महिलाको यौन आवश्यकता पूरा भएन भने यो निकै हानिकारक हुनसक्छ ।’

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *