लण्डन । भूतपूर्व गोर्खाहरुको परिवारसम्बन्धी एक केसमा बेलायती अदालतबाट ऐतिहासिक फैसला भएको छ । लण्डनस्थित इमिग्रेसन ट्राइबुनलले भूपू गोर्खाकी नेपालमा रहेकी छोरीका साथै नाति -नातिना समेतको पक्षमा फैसला सुनाएको हो ।
अल्डरसटमा बस्दै आएका भूपू गोर्खा खड्गबहादुर रानाकी नेपालमा रहेकी ४३ वर्षीया छोरी विद्या लामा तथा २० वर्ष र १५ वर्षका नातिहरुको मुद्धामा अदालतले यस्तो फैसला गरेको हो ।
मानवअधिकार र पारिवारिक पृष्ठभुमिलाई आधार बनाएर अदालतले उनीहरुको पक्षमा फैसला दिएको हो । गोर्खा परिवारको पक्षमा बेलायती अदालतमा बारिस्टर राफेल जेसुरमले बहस गरेका थिए । यो केसको ह्याण्डलिंग गर्ने लण्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्मका प्रिन्सिपल सोलिसिटर राजु थापाले यो फैसला उपलब्धीपूर्ण भएको बताए । ‘विगतमा छोराछोरीहरुको केसमा भएपनि नाति र नातिनीको केसमा सम्भवत: यो पहिलो रेकर्ड हो’,
सोलिसिटर थापाले भने, ‘यसबाट भविष्यमा अझै धेरै परिवारहरु लाभान्वित हुन सक्ने आधार बनेको छ ।’ सोलिसिटर थापाका अनुसार विगतमा बेलायतमै अन्य भिसामा रहेका नाति नातिनाहरुको पक्षमा फैसला भएपनि नेपालमै रहेकाहरुको पक्षमा अदालतले फैसला सुनाएको यो पहिलोपटक हो ।
बेलायतको इमिग्रेसन कानुनले भूपू गोर्खाका ३० वर्ष मुनिका छोराछोरीलाई मात्रै बेलायतको सेटलमेन्ट दिने व्यवस्था गरेको छ। तर मानवअधिकार र पारिवारिक पृष्ठभुमिका आधारमा सो भन्दा माथि उमेर हुनेहरुले समेत पाउंदै आएका छन् ।






