लण्डन । नेपालीहरुको महान पर्व दशैं र यसलगत्तै आउनेअरु केहि पर्वको शुभकामना दिन लण्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रम गरिएको छ ।
नेपालका उपप्रधानमन्त्री तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, सर्वोच्च अदालतका न्यायधिश डा आनन्दमोहन भट्टराई, पूर्वमन्त्री अशोक राई लगायतका विशिष्ट अतिथिहरुको उपस्थितिमा शुक्रबार सांझ सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवा, एनआरएन, व्यवसायी, संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री उपेन्द्र यादवले जहां रहेपनि आफ्नो संस्कृति र पहिचानलाई कायम राख्दै अघि बढ्नुपर्ने धारणा राखे ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सांस्कृतिक विविधताको हिसाबले निकै धनी रहेको उल्लेख गर्दै सोहि विविधताभित्रको एकता सुदृढ गर्न सकेमा त्यसले देशलाई सम्पन्न बनाउने विचार व्यक्त गरे ।
पूर्वमन्त्री अशोक राईले दूतावासमा भएको भेलाले बेलायतभित्र पनि नेपाल छ भन्ने तथ्यको अनुभुति गराएको उल्लेख गरे ।
न्यायधिश डा आनन्दमोहन भट्टराईले शुभकामना मन्तव्य दिदै लामो समयको प्रयासपछि नेपालमा समावेशी संिवधान बनेको र यसको सफल कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी गराए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजदूत डा सुवेदीले बेलायत तथा संसारभर रहने सम्पुर्ण नेपालीहरुमा दशैं तथा यसपछि आउने सबै राष्ट्रिय पर्वहरुको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गिनिज वल्र्ड रेकर्डमा ३ वटा रेकर्ड गराइसकेका पर्वतारोही गोर्खा निर्मल पुर्जा मगर (एमबिई) लाई दूतावासले सम्मान गरेको थियो ।
कार्यक्रमको अन्त्यमा वरिष्ठ गायिका मिरा राणा र लोकदोहोरी गायिका सिता केसीले गीतहरु प्रस्तुत गरेका थिए भने सयपत्री कल्चरल समुह यूकेका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







