काठमाडौ, २६ फागुन । एकीकृत माआवादीका अध्यक्ष एवं गठबन्धनका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ३० दलीय गठबन्धनमा अल्पमतमा परेका छन् । वार्ताका लागि ३० गतेसम्म पर्खिनुपर्ने प्रस्तावमा गठबन्धनक घटक मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले मात्र साथ दिएका छन् ।
वार्ता सफल नभए २६ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका निर्णय कार्यान्वयन गराउन अरु बाँकी दलका अध्यक्ष तथा नेताहरुले माग गरेका थिए । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको कार्यक्रम आजै घोषणा गर्ने भनिएको थियो आजै घोषणा हुनुपर्छ नत्र जनताले विश्वास नगर्ने धारणा राखेका थिए ।
‘सत्ताधारी दलका केही नेताले सहमतिमा सविधान बन्छ भन्दैमा आन्दोलनका कार्यक्रम रोक्नु हुँदैन, वार्ताका लागि पटक पटक प्रधानमन्त्री कोइरालाईलाई भेटसक्नु भएका अध्यक्ष प्रचण्डले स्वयं वार्ता सफल होला भने कुरामा विश्वास छैन भन्नुहुन्छ भने के कारणले अब चार दिन पर्खिने ?’, उनले भने, ‘२६ गते भनिएको थियो २६ गते नै आन्दोलनका कार्यक्रम घोषणा हुनुपर्छ ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ताका लागि यतिका दिन पर्खियौ तर हालसम्म केही भएन अब पनि चार दिनको समय दिएर केही हुने बाला छैन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने कुरामा जोड दिएका थिए । विपक्षि गठबन्धनलाई वार्ताको नाममा कमजोर पार्ने सत्ताधारी दलको रणनीति हो र त्यो रणनीतिमा हामी जानि जानि फँस्दैछौ, बैठकमा सहभागि एक नेताले महतोको भनाईलाई उधृत गर्दै भने, यो चार दिनको समयमा पनि केही हुँदैन तपाईहरु हेर्दै जानु होला ।’
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि अब चार दिनका लागि पर्खिनु उपयुक्त होइन, बरु एक गते घोषणा गरिने कार्यक्रम आजै घोषणा गरौं भनि दवाव दिएका थिए । आन्दोलनबाट जनता जुर्मुराई सकेका थिए, जनता सडकमा आइसकेका थिए तर यसरी वार्ताको नाममा पटक पटक म्याद थपिदै गयो भने गठबन्धनबाट जनताको विश्वास उठ्छ र आन्दोलन कमजोर हुन्छ उनले भने ।
सत्ताधारीको कुरालाई एक पटकलाई मान्ने नै हो भने १ गते घोषणा गर्ने कार्यक्रम आजै घोषणा गरौ, कमसे कम कार्यक्रम घोषणा भयो भने सत्ताधारी दलमाथि पनि दवाव पर्छ भन्दै उनले आजै आन्दोलनका कार्यक्रम घोषणा गर्नमा जोड दिएका थिए ।
यसरी रिझाए नेताहरुलाई
अरु दलका नेताहरुले पनि कार्यक्रम आजै घोषणा हुनुपर्ने कुरामा जोड दिएका थिए तर अध्यक्ष प्रचण्डले अवस्था बुझ्न आग्रह गरेका थिए । उनले वार्ताप्रति सत्ताधारी दलहरु सकारात्मक छन् भने कुरामा आफूलाई अझै विश्वास नलागेको तर प्रधानमन्त्री र राष्ट्रपतिले दुईचार दिन आन्दोलन घोषणा नगर्न आग्रह गरेपछि यस्तो अवस्था आएको प्रस्ट्याएका थिए ।
अनन्त आन्दोलनमा नै जाने हो तर यतिका दिन पर्खियौं चार दिन पर्खिदैमा केही बिग्रिदैन भन्दै अध्यक्ष प्रचण्डले चैत्र १ गते आन्दोलनका कार्यक्रम घोषणा हुने भन्दै नेताहरुलाई थाम थुम पारेका थिए ।
अध्यक्ष गच्छदारले प्रधानमन्त्री सुशिल कोइरालासँग भएको विहान भएको भेटघाट र छलफलको बारेमा त्यहाँ जानकारी गराएका थिए । प्रधानमन्त्री कोइरालाले आफूलाई जसरी पनि तीन चार दिन गठबन्धनलाई आन्दोलनमा जानबाट रोक्नुस् भनेको कुरा उल्लेख गर्दै उनले वार्ताप्रति प्रधानमन्त्री निकै गम्भिर रहेको आफूले पाएको कुरा त्यहाँ बैठकमा राखेका थिए । चार दिनमा केही विग्रिदैन साथीहरुलाई सम्झाउनुस् म यता एमालेका साथीहरुसँग कुरा गर्दैछु चार दिनमा सहमति हुन्छ, प्रधानमन्त्री कोइरालाले भनेको कुरालाई अध्यक्ष गच्छदारले जस्ताको त्यस्तै प्रस्तुत गरेका थिए ।
अध्यक्ष गच्छदारले पनि चार दिनमा हुन त केही हुँदैन तर चारैतिरबाट तीन चार दिन पर्खिन भनिरहेका छन् भने गठबन्धनका साथीहरुले पनि त्यो कुरा बुझि दिनुपर्ने बताउँदै दलका नेताहरुलाई नआतिन आग्रह गरेका थिए ।
उपेन्द्र र गच्छदारबीच कटाक्ष
अध्यक्ष गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा ३० दलीय गठबन्धनलाई जानकारी नै नदिइकन सत्ताधारी दललाई भेटघाट गरेको प्रति दलका नेताहरुले टिका टिप्पणी गरेका थिए । नेताहरुको टिका टिप्पणी पछि बोल्न शुरु गरेका गच्छदारले आफूमाथि शंका नगर्न आग्रह गरेका थिए । आफू काँग्रेस पार्टीमा लामोसमयसम्म बसेका कारणले नेताहरुसँग चिनजान भएको कारणले पनि भेटघाट हुनेको गरेको स्पष्टीकरण दिएका थिए ।
अहिले आफ्नो अध्यक्ष प्रचण्ड भएको टिप्पणी गर्दै उनले आफ्नो पार्टी एमाओवादीमा विलिन हुन तयार रहेको अरुले कोहीले यस्तो हिम्मत गर्न सक्छ भनि जवाफ मागेका थिए । आजसम्म आफूले गठबन्धनको निर्णय विरुद्धमा कहि कतै केही नगरेको यदि गरेको हो भने प्रमाण देखाउन उनले चुनौति दिए ।
त्यसपछि फोरम नेपालका अध्यक्ष यादवले अध्यक्ष गच्छदारजी आज बोलेका कुरामा अडिग रहन सुझाव दिएका थिए । उनको बोलाई र गराईमा फरक पाइएको भनि अध्यक्ष यादवले टिप्पणी गरेका थिए ।







