२० तस्वीरमा हेर्नुहोस् लण्डन दूतावासमा संविधान दिवसको विशेष समारोह

लन्डन । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा विहिबार दिउँसो लण्डनस्थित नेपाली दूतावासमा संविधान दिवस एक विशेष समारोहका साथ मनाइएको छ ।

दूतावासमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा प्रिन्स माइकल अफ केन्ट सहभागी भएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रिन्स माइकलले नेपालको स्थिरता र समृद्धि यात्रामा बेलायत एक साझेदारका रुपमा सहयोग गर्न सधै ईच्छुक र तत्पर रहेको बताए ।

बेलायत र नेपालको मित्रता २ सय वर्षभन्दा अघिदेखि निरन्तर रहेको उल्लेख गर्दै प्रिन्स माइकलले दुई देशबीचको सम्बन्ध गोर्खाहरुको साथै राजनीतिक, आर्थिक , सांस्कृतिक लगायतका जगमा समेत थप बलियो र घनिष्ठ बनेको धारणा व्यक्त गरे । आफु आबद्ध रहेको ‘केयर फर चाइल्ड’ नामक च्यारिटी संस्था मार्फत निकट भविष्यमा नेपालको भ्रमणमा जाने योजना समेत उनले सुनाए ।प्रिन्स माइकल अफ केन्ट बेलायती महारानी एलिजाबेथका पहिलो कजिन हुन् । बेलायती राजगद्धीको लाइनमा अहिले ४७ औं नम्बरमा रहेका उनी जन्मिने बेला उक्त लाइनको ७ औं नम्बरमा थिए ।

समारोहमा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतले नेपालीहरुको हृदयमा विशेष स्थान ओगटेको भन्दै बेलायतीहरुले पनि नेपाल र नेपालीहरुसंग उस्तै भावनात्मक सम्बन्ध राख्ने विश्वास व्यक्त गरे । २ सय लामो नेपाल बेलायत सम्बन्धको शिलशिलामा कैयौं अवसरमा दुवै पक्षबाट विभिन्न तहमा भ्रमणहरु भएको स्मरण गर्दै राजदूत डा सुवेदीले अब यो सम्बन्धलाई नयाँ चरणमा पुर्याउन राज्य प्रमुखहरुकै तहमा भ्रमणहरुको तयारी गर्नुपर्ने बेला आएको बताए । सो अवसरमा प्रिन्स माइकलले दूतावासमा नेपाली चित्रकला प्रदर्शनीको उद्घाटन गरेका थिए ।राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली खुकुरी र एक चित्रकला उपहारस्वरुप प्रिन्स माइकललाई प्रदान गरेका थिए ।

समारोहमा ब्रिगेड अफ गोर्खाजको ब्याण्डले नेपाल र बेलायतको राष्ट्रिय धुन प्रस्तुत गरेका थिए भने समारोहको अन्त्यमा गोर्खाहरुको खुकुरी नाच र विभिन्न कलाकारका केहि नृत्यहरु पनि देखाइएको थियो ।कार्यक्रमको संचालन दूतावासका उपप्रमुख शरद राज आरनले गरेका थिए । समारोहमा बेल्यातास्थित विभिन्न कुटनितिक नियोगका प्रतिनिधी, बेलायत सरकारका अधिकारी, मेयर, काउन्सिलर, नेपाली समुदायका प्रतिनिधी गरी झन्डै ४ सयको सहभागिता थियो ।कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेका थिए । 

 तस्बिरहरु : एभरेष्ट गौतम