सिरियामा पुनः हमलाको तयारी, अमेरिका र संयुक्त राष्ट्रले दिए चेतावनी

संयुक्त राष्ट्रले रुस र टर्कीलाई सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा सम्भावित विध्वंश रोक्नका लागि तत्काल कारवाही गर्न आदेश दिएको छ ।

सिरियाली राष्ट्रपति बशर अल असदको सेना रुसको समर्थनमा घना जनसंख्या भएको इदलिबमा आक्रामक सैन्य कारवाहीको योजना बुनिरहेको भन्ने खबर सार्वजनिक भएसँगै संयुक्त राष्ट्रले यस्तो चेतावनी दिएको हो ।

यसअघि रुसी विमानले इदलिबको मुहमबल र जदरायामा हमला गरेको जसमा बच्चासहित नौजनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।

यहाँका स्थानीय अबू मोहम्मदले बिहान ११ बजेदेखि बेलुका चारबजेसम्म हवाई हमला भएको जानकारी दिए ।

यस्तै अर्का स्थानीय अहमदले घटनाको विवरणबारे जानकारी दिँदै भने, ‘विमान हाम्रो घर नजिकै आउँदा हामी घरमा नै थियौं । हामी डरायौं र घर छोडेर भाग्यौं । मलाई अन्यलाई पनि घर खाली गर्न लगाएँ । मलाई थाहा थियो कि रुसले पुनः हमला गर्नेछ । यस्तै भयो । उनीहरुले विमानमार्फत निकै तगडा हमला गरे र तेस्रो पटकमा पूरा घर ध्वस्त भयो । ’

यसैबीच संयुक्त राष्ट्रका शान्ति दूत स्टाफन डे मिस्टुराले टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे छलफल गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रमा विशेष सल्लाहकार र सिरियामा विशेष दूत यान एगल्याण्डले एक पत्रकार सम्मलेनमा भने, ‘इददिबमा साँच्चै नै अब एक मानवतावादी र राजनीतिक रणनीतिको आवश्यकता छ र यदि यस्तो हुन सके लाखौंको ज्यान बच्ने थियो । यदि यो असफल भए अबको केही दिन वा घण्टाभित्र हामीले यस्तो युद्ध देख्नेछौं जुन पछिल्ला युद्धभन्दा क्रुर हुनेछन् । ’

‘त्यसकारण हामी अन्त्यमा तपाईं सबैलाई समझदारीको अपिल गर्दछौं । यो समझदारीको अर्थ यो हुनेछ कि हामी ती सबै कुरा दोहोराउँदैनौं जुन पूर्वी अल्लेपो, पूर्वी गूटा र रक्कामा भएको थियो । शहरका बासिन्दालाई हत्या गरेर शहरलाई बचाउनुको कुनै अर्थ छैन,’ उनले भने ।

‘इदलिबमा जुन डर फैलिएको छ, त्यसमा विश्वास गर्न मुश्किल छ । पूरा इलाका चारैतर्फबाट सेनाले घेरिएको छ र बीचमा मानिसहरु छन् । उनीहरुलाई हरदम गोलीबारीको शिकार हुने हो भन्ने डर छ । यहाँ करिब ३० लाख मानिसहरु बस्छन् जसमध्ये १० लाख बच्चाहरु छन् । त्यसकारण हामीले जसरी पनि इदलिबमा हुन लागेको युद्ध रोक्नुपर्छ । यहाँ पहिले नै लाखौं मानिसहरु आफ्नो घर छोड्न बाध्य छन् । इदलिबमा युद्ध गर्नु भनेको कुनै शरणार्थी शिविरमा हमला गर्नु सरह हो ।’

संयुक्त राष्ट्रकी अमेरिकी दूत निकी हेलीले इदलिबको स्थिती अत्यन्तै गम्भीर त्यहाँको चिच्याहट र पुकार आफूले पनि सुनिरहेको बताएकी छिन् ।

उनले भनिन्, ‘रुसले सबै आरोप ह्वाइट हेलमेट्सको टाउकोमा थोपरेको छ र असद पनि यही गरिरहेका छन् । जब असदले आफ्नै जनतामाथि रासायनिक हमला गर्ने तयारी गर्छन्, उनले सधैं यस्तै गर्छन् । तपाईंले इरान, रुस र असदका लागि राष्ट्रपति ट्रम्पको चेतावनी सुन्नुभएको छ । हामी यो स्विकार गर्दैनौं । संयुक्त राष्ट्र सुरक्षा परिषद् इदलिबका जनतामाथि रासायनिक हमलालाई अनुमती दिन सक्दैन् । सिरियाका जनताले पहिले नै अत्यधिक पीडा झेलिसकेका छन् । यो त्रासदीपूर्ण स्थिती हो ।’

अमेरिकाले पहिले नै भनिसकेको छ कि असदको सेनाले मानिसहरुमाथि रासायनिक हतियारले हमला गरे यसविरुद्ध ‘उचित र तत्काल’ जवाफी कारवाही गर्नेछ ।

ट्रम्पले एक दिन अघि सिरियाली सरकारसमेत इरान र रुसलाई चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यदि उनीहरु विद्रोहीको कब्जा भएकमो इदलिबमा हमला गर्छन् भने यो मानवताप्रति गम्भीर अपराध हुनेछ । इदलिबमा हमला भए हज्जारौंको हत्या हुनेछ ।’

ट्रम्पले बुधबार ट्वीट गरेर असदले इदलिबमा सोचबिचार बिना हमला गर्नु नहुने बताएका छन् ।

यस्तो अर्कोतिर, सिरियाको सरकारी टेलिभिजन च्यानलले इजराइलको युद्ध विमानले देशको उत्तर–पश्चिम इलाकास्थित सैन्य इलाकामा निशाना बनाएको बताएको छ ।

टिभी च्यानलले एक अधिकारीलाई उद्धृत गर्दै एक युद्ध विमान हमा र टाटूर्स प्रान्तमा निकै कम उचाईमा उडिरहेको देखिएको बताएको छ । अधिकारीका अनुसार केही इजराइली मिसाइललाई खसालिएको छ र केहीले त्यहाँबाट हट्न बाध्य बनाइएको छ ।

इजराइलले यो रिपोर्टमाथि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सी