लण्डनमा एलआरआई स्कुलको टोलीले भेट्यो बेलायती सांसद शर्मालाई

लण्डन । बेलायत भ्रमणमा रहेको काठमाडौंको कलकींस्थित एलआरआई स्कुलको टोलीले बेलायती सांसद विरेन्द्र शर्मासंग भेट गरेको छ । नेपालसहित दक्षिण एशिया हेर्ने संसदीय समितिका सभापति समेत रहेका शर्मासंग लण्डनस्थित उनकै कार्यकक्षमा एलआरआईको व्यवस्थापन टिमले भेटवार्ता गर्यो । त्यसअवसरमा एलआरआई स्कुलले नेपालमै पहिलोपटक स्थापना गरेको विद्यार्थी संसदको केहि महिनापछि हुने उद्घाटन कार्यक्रमका लागि सांसद शर्मालाई निमन्त्रणा गरिएको छ ।

सांसद शर्माले उक्त कार्यक्रमको निमन्त्रणा स्वीकार गर्दै सहभागिताका प्रतिबद्धता पनि जनाएका छन् । भेटबार्ताका क्रममा सांसद शर्माले एलआरआई स्कुल र बेलायतका शैक्षिक संस्थाहरुबीचको सम्बन्ध र सहकार्य अघि बढाउन आफुले सकेको सहयोग गर्ने आश्वासन पनि दिएका छन् । यसै बीच एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच दुइ पक्षीय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । दुबै स्कुलका प्रतिनिधिहरुले लण्डनमा आायेजित एक कार्यक्रममा शैक्षिक सहकार्य गर्ने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा एलआरआईका तर्फबाट प्राचार्य डा. देवकान्त जोशी र इङ्लिस इन चेस्टरका तर्फबाट निगेल परमोरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार छोटो अवधिको शिक्षणका लागि विद्यार्थीको भाषाको गुणस्तर तथा अभिभावकका लागि छोटो अवधिको भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

शैक्षिक गुठी अन्र्तगत सञ्चालित एलआरआईले सम्झौता गरेको बेलायतको उक्त विद्यालय बेलायतका करीब ५ सय विद्यालयमध्ये उत्कृष्ट तीनमा पर्ने विद्यालय भएको बताइएको छ । एलआरआईले करीव १७ देशसंग दुइ पक्षीय सम्झौता गरिसकेको विद्यालयका प्राचार्य जोशीले बताए । इङ्लिस इन्चेस्टरसँगको सम्झौताले छोटो समयका लागि इङ्लिस पढ्न जाने विद्यार्थीहरुका लागि कोशेढुङ्गा सावित हुने विद्यालयले विश्वास लिएको लेखाप्रमुख दीपक जोशीले बताए । इन चेस्टरसँगको सम्झौता पछि एलआरआईलाई विश्वका अन्य देशसँग पनि सहकार्य गर्न सकिने विश्वास लिइएको लेखा प्रमुख जोशीले बताए ।

सम्झौता समारोहमा विद्यालयका संस्थापक गुठियार यशोधरा पन्त, लेखा प्रमुख दिपक जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतम, इङ्लिस इन चेस्टरकी जेनी, लण्डन नेपाल न्युज बेलायतका सम्पादक तथा एनआरएन युकेका सल्लाहकार एभरेष्ट गौतम लगायतको सहभागिता रहेको थियो ।