नेपाली आकाशमा ट्राफिक जाम : पालो पर्खन डेढ घण्टासम्म आकाशमै

काठमाडौं , २४ फागुन । नेपाली आकाशमा आइतबार दिनभरि नै हवाइ ट्राफिक जाम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएपछि अवतरणका लागि पालो पर्खने क्रममा आकाशमा ट्राफिक जाम भएको हो ।

आकाशमा एउटा जहाजले न्यूनतम ४० मिनेटदेखि अधिकतम डेढ घण्टासम्म फन्को मारेर बस्नुपरेको छ । लामो समय फन्को मारेर बस्दा पनि अवतरण गर्न नपाएपछि एयर अरेविया र एयर एशिया डाइभर्ट भएका छन् ।

विमानस्थल स्रोतका अनुसार एयर अरेबिया भारतको लखनउ डाइभर्ट भयो भने एयर एशिया कोलकाता डाइभर्ट भएको छ । लामो समय आकाशमा होल्ड हुँदा इन्धन सकिन थालेपछि जहाजलाई डाइभर्ट गरिएको हो । दुबै जहाज बेलुका काठमाडौं आउने तालिका छ ।

Nepali Aakash

दिनभरजसो आकाशमा एक पटकमा पाँचदेखि आठवटासम्म जहाजहरु होल्ड हुन पुगेका छन् । दुर्घटनाग्रस्त टर्किस एयरका कारण विमानस्थल चार दिनसम्म बन्द हुँदा एयरलाइन्सहरुले उडान बढाउँदा यस्तो अवस्था आएको हो ।

विमानस्थल कार्यालयलाई जहाज उडान अवतरण गराउन हम्मे-हम्मे परिरहेको छ । विमानस्थलमा जहाज पार्किङ स्थलको अभावले पनि जहाजलाई धेरै समय आकाशमा होल्ड गरेर राख्नुपरेको हो ।

त्रिभुवन विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न मिल्छ । दिनभरी नै आकाश मात्र होइन, विमानस्थलको पार्किङ र ट्याक्सी वे -जहाजलाई पार्किङ स्थल लैजाने बाटो’ मा पनि ट्राफिक जाम हुन पुग्यो ।

अवतरण गरेका जहाज पार्किङमा नअटाएपछि ट्याक्सी वेमा पनि केही बेर राख्नुपर्‍यो । विमानस्थल कार्यालका अनुसार अवतरण गरेको जहाजलाई ट्याक्सी वे मा २०/२० मिनेट रोक्ने, पार्किङमा भएको जहाजमा यात्रु भरेर धावन मार्गतिर पठाएपछि ट्याक्सी वे बाट जहाज पार्किङ स्थल लैजाने काम भइरहेको छ ।

विमानस्थलमा कतिपय बेलामा एकै पटक १४/१५ वटासम्म जहाज अवतरण गराउनुपर्दा ट्याक्सी वे मा समेत ५/६ वटा जहाज अडाएर राख्नुपर्‍यो ।

ट्याक्सी वे टुमा टर्किस एयरको दुर्घटनाग्रस्त जहाज राखिएको हुँदा त्यसले ट्याक्सी वे वानलाई समेत छेकेको छ । पार्किङमा यसले समस्या पारेपछि अहिले प्राविधिकहरु हटाउनका लागि तयारी गरिरहेको बताइएको छ ।

जहाजलाई बुद्ध एयरको हृयाङ्गरतर्फ लैजाने बताइएको छ । शनिबार धावनमार्ग खुला गर्नका लागि आन्तरिक टर्मिनल भवनको अगाडि ट्याक्सी वे मा राखिएको थियो । जसले अहिले अन्तर्राष्ट्रिय उडान अवतरणमा समस्या पारिरहेको छ ।

समचार तयार पार्दाको समय साढे ४ बजेसम्म ३४/३५ वटा उडान भइसकेको बताइएको छ । सो समयमा पार्किङ र ट्याक्सी वे भरिएको थियो भने आकाशमा ६ वटा जहाज होल्ड भइरहेका थिए ।

– See more at: http://www.onlinekhabar.com/2015/03/250007/#sthash.UylKjIMK.dpuf