लण्डन । हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै लन्डनमा तीज कार्यक्रम सुरु भइसकेको छ ।
साउथ ईस्ट लण्डनको प्लमस्टिडस्थित रयाडिकल क्लब शनिबार सांझ धपक्कै बलेको थियो । रातो पहिरन र गरगहनामा सजिएका झण्डै २ सय ४० नेपाली महिलाहरुको उपस्थितिमा माहोल पूरै तीजमय थियो ।
स्थानीय नेपाली महिलाहरुको सहभागितामा हालै स्थापित दिदीबहिनी समुहले आयोजना गरेको तीज विशेष कार्यक्रममा रमाइलो नाचगानको अवसर जुटेको थियो ।
सांझ ५ बजेदेखि नाच्न सुरु गरेका दिदीबहिनीहरु मध्यरातमा कार्यक्रम नसकिउञ्जेल थकित देखिएनन् । परम्परागत तीजका भाकाहरुदेखि नेपाली र हिन्दी फिल्मका गीतहरुसम्ममा धित मरुञ्जेल नाच्न दिदीबहिनीहरुले छोडेनन् । नेपालबाट आएका केहि महिलाहरुले मौलिक तीजका गीतहरु प्रत्यक्ष गाएर समेत अरुलाई नचाएका थिए ।
हालै स्थापित दिदीबहिनी समुहले आयोजना गरेको यो पहिलो कार्यक्रम थियो । जसबाट प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको लागि केहि कोष जुटाउने समेत लक्ष्य लिइएको थियो ।
समुहले आयोजना गरेको पहिलो कार्यक्रममै उत्साहजनक सहभागिता देखेपछि आयोजक समुहका महिलाहरु पनि निकै दंग देखिन्थे । ‘कार्यक्रममा हामीले सोंचेभन्दा पनि धेरै दिदीबहिनीहरु आउनुभयो’, समुहकी एक अगुवा अनिता केसीले भनिन्, ‘पहिलो कार्यक्रम पनि यसरी सफल हुंदा हामीलाई अघि बढ्न थप हौसला मिलेको छ ।’
‘प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एक दिन भए पनि नेपाली लोकलयमा धोको फुकाएर नाचगान गर्ने अनि आम्दानी भएको केही रकम परोपकारी कार्यमा खर्च गर्नु हाम्रो उद्धेश्य हो,’ संयोजक समुहकी श्रद्धा थापा,ले बताइन्।
नेपाली कला संस्कृतिलाई जोगाउने हाम्रो उद्धेश्य अनुरूप महिलाहरूको महान् चाडलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास जारी रहने उनले बताइन्।
कार्यक्रमाबट कति रकम संकलन भयो भन्नेबारे अन्तिम हिसाब गर्न बांकी रहेको जनाउंदै छिट्टै यो विवरण सार्वजनिक गर्ने बताइएको छ । कार्यक्रममा सुनको चन्द्रमा, सारी लगायतका आकर्षक पुरस्कारसहितको राफल ड्र समेत गराइएको थियो ।
नेपालबाट आएका कलाकारलाई समेत दिदीबहिनी समुहले सम्मान गरेको थियो । एशिएन महिला एशोसिएसनकी मञ्जु बस्नेत र उपस्थित महिलाहरुको तर्फबाट कोहिनुर अमात्यले दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
बेलायतमा रहेका सयौं नेपाली संस्थाहरुमाझ सांच्चीकै पृथक पहिचान बनाउने दृढताका साथ अघि बढिरहेको दिदीबहिनी समुहले सामाजिक क्षेत्रमा समेत सक्दो कार्यहरु गर्ने लक्ष्य लिएको छ । कुनै पनि सानो , ठूलो पद विभाजन बिना नै सबै दिदीबहिनीहरुलाई समान तहको सदस्यको रुपमा राखेर काम गर्ने परिपाटी दिदीबहिनी समुहले सुरु गरेको छ ।
समुहमा श्रद्धा थापा,अनिता केसी, माया केसी, अर्चना लिम्बू, बसन्ती राना मगर, लक्ष्मी तिमिल्सिना, श्रद्धा थापा, अञ्जना थापा, टिना थापा, हिमा क्षेत्री, लक्ष्मी बस्नेत, उमा गुरुङ, एलिना श्रेष्ठ, संगीता थापा लगायतका दिदीबहिनी सक्रिय छन् ।
बेलायतमा रहेका सबै क्षेत्र, जाति, समुदाय र पेशाका नेपाली दिदीबहिनीहरुलाई समेटेर उनीहरुबीच एकआपसमा सुखदुख बांड्ने चौतारीका रुपमा स्थापित हुने लक्ष्य बोकेको समुहले यसमा आबद्ध हुन बेलायतबासी सबै नेपाली महिलालाई आव्हान गरेका छन् ।
प्रवासमा दशैं तिहारपछि सबैभन्दा ठूलो चाडका रूपमा तीजलाई लिइन थालिएको छ।






