यस्ता छन् एनआरएन यूरोपको लक्जेम्वर्ग घोषणापत्र

लन्डन । एनआरएनको यूरोप क्षेत्रीय बैठकले १५ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गरेको छ । ११ औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला बैठकले यूरोपका विषयमा छलफल गर्दै १५ बुँदे घोषणापत्र जारी गरेको हो । यस्ता छन् घोषणापत्र जस्ताको तस्तै :

१.  नयाँ संविधानले गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि कार्यान्वयनमा अझै आउन सकेको छैन । आगामी आश्विन महिना सम्म कानून बनाई प्राप्त संबैधानिक अधिकारको पूर्ण उपभोगको लागि तत्काल स्पष्ट कानुन निर्माणगरी जारी गर्न यो बैठक नेपाल सरकार समक्ष जोडदार अनुरोध गर्दछ । वैठकमा सहभागी माननीय मन्त्रीज्यू तथा संघीय संसदका माननीयज्यूहरुबाट यस विषयमा प्राप्त आश्वासन र सदासयता प्रति हार्दिक आभार प्रकट गर्दै नागरिकता सम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्न र थप अधिकारका लागि पहल जारी राख्ने निर्णय गरिन्छ ।

.  नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघले अक्टोवर १२-१४, २०१८ मा काठमाडौंमा आयोजना गर्ने पहिलो विश्व विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप यस बैठकमा शिप ज्ञान र नवप्रवर्धन सत्रको आयोजना गरियो । यसमा शिक्षा, स्वास्थ्य, कृषि, फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत भए । विश्व विज्ञ सम्मेलन सफल पार्न युरोपका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यस बैठक आग्रह गर्दछ ।

. नेपालको बढ्दो बेरोजगारी समस्यको अन्त्य गर्न गैर आवासीय नेपाली संघको सहकार्यमा प्राबिधिक शिक्षा प्रणाली भोकेशनल शिक्षा लागु गर्न प्रस्ताव गर्दै सरकारसंग यसमा आवश्यक सहकार्य गर्ने यो बैठक निर्णय गर्दछ ।

४.  गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंशा गर्दै महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृध्दिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउनुपर्ने निर्णय गर्दछ । गैर आवासीय नेपाली संघ महिला फोरमको सक्रियतामा नेपालमा गत वर्षबाट शुरु भएको सिप विकास तालिमलाई निरन्तरता दिने निर्णय गरिएको छ । गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्ने निर्णय गरिन्छ ।

. विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था अविलम्ब गराई ति बच्चाहरुलाई विदेशबाट स्वदेश जान यात्रा अनुमति पत्रको व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिन्छ ।

.  नेपाल सरकारले हालसम्म नर्वे, थाइल्यान्ड, श्रीलंका, मौरिसस, अष्ट्रिया, पाकिस्तान, चीन, कोरिया, कतार र भारतसंग दोहोरो करमुक्ति सम्झौता सम्पन्न गरेको छ । लगानीकर्ताको लगानीको सुरक्षाका निम्ति अनिवार्य शर्तको रुपमा रहने करमुक्ति सम्झौता ९डिटिएए०, विप्पा र इपिए सम्झौता नभएका मुलुकबाट ठूलो लगानी आउन नसकेको निष्कर्ष सहित अन्य देशहरुमा समेत सम्झौता प्रक्रिया अघि बढाउन सरकारसंग अनुरोध गर्ने निर्णय गरिन्छ । यसले गैर आवासीय नेपाली र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बैठकको ठहर छ ।

७.  गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती, कार्यालय भवन, शंखमूल पार्क, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टुवरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछ । यसै वर्ष बेलायतमा औपचारिक रुपमा घोषणा गरिएको नेपालमा १० अर्ब लगानी सुनिश्चित गर्ने कार्यक्रम तत्काल अघि बढाउन यो बैठक पुन प्रतिबध्दता जाहेर गर्दछ ।

. नेपालमा बार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपाल सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यवध्दता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसंग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषदहरुलाई अनुरोध गर्दछ । यो अभियानलाई सफल बनाउन नेपाल बायुसेवा निगमको हवाइ सेवा युरोप क्षेत्रमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिन्छ ।

.  युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली संघ सरकारसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गर्दछ । त्यसका लागि आवश्यकता अनुसार कानुनी व्यवस्थाका लागि सरकारसंग आग्रह गर्ने निर्णय गर्दछ ।

१०.  गैरआवासीय नेपालीहरुको उपस्थिति र समस्याहरु बढ्दै गइरहेको पोर्चुगल, इटाली लगायतका देशहरुमा नेपाली दुतावास राख्नु पर्ने महशुश बैठकले गरेको छ र नेपाल सरकारलाई यस तर्फ यथाशीघ्र आवश्यक कदम चाल्न अनुरोध गर्दछ ।

११.  युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैर आवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गीण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गरिन्छ । साथै युरोप क्षेत्रका गैर आवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

१२.  गैर आवासीय नेपाली संघको आगामी अक्टुवरमा हुने संघको विधान अधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव माथि छलफल भयो । प्रस्तावित संशोधनमा अगस्त ३० तारिख भित्र सुझाव तथा सल्लाह पेश गर्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गरिन्छ ।

१३.  नेपालको बिद्यमान निर्बाहमुखी कृषी प्रणालीलाई ब्यबसायिकीकरण तथा औद्योगीकरण गरी ‘सम्बृद्धीको आधार कृषि र कृषि अभियानमा गैरआवासीय नेपाली’ भन्ने भावका आधारमा विदेशमा सिकेका प्रविधि, सिप र अनुभव सहित गैरआवासीय नेपालीहरुको कृषि क्षेत्रको समग्र विकासमा सहभागिता बढाउँदै जाने प्रतिवध्दता प्रकट गर्दछ ।

१४.  यस बैठकमा युरोप क्षेत्रमा कृयाशिल २८ राष्ट्रिय समन्वय परिषदहरुको कृयाकलापबारे शुष्म छलफल गरियो । आगामी दिनमा अझै गैर आवासीय नेपालीहरुको हकहितको लागि सामाजिक तथा आर्थिक कृयाकलापलाई बढावा दिदै सम्बन्धित देशका स्थानीय निकाय र सरकारसँग सहकार्य गरी नेपाल र नेपालीका हितमा कार्यहरु गर्न पहल गर्ने निर्णय गर्दछ । आगामी युरोपीय बैठक इटालीमा र त्यस पछिको क्रमश आयरल्याण्ड र फिनल्याण्डमा गर्ने पनि निर्णय गरियो ।

१५.  यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने नेपाल सरकार, लग्जम्बर्ग सरकार बेनेलक्सका लागि बेल्जियम स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु, आयोजक राष्ट्र लक्जेम्बर्ग, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।