लण्डन । झापाको दमकमा सञ्चालित रत्न आश्रमको लागि कोष जुटाउने उद्धेश्यले शुक्रबार लण्डनमा एक च्यारिटी कार्यक्रम गरिएको छ । लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबको हलमा सम्पन्न उक्त कार्यक्रमबाट आश्रमको लागि २७ सय पाउण्ड संकलन भएको छ ।
कार्यक्रममा सहभागीहरुको टिकट तथा केहि स्पोन्सर समेतको सहयोगमा झण्डै ४ हजार पाउण्ड उठेको तथा कार्यक्रमको सबै खर्च कटाएर २७ सय ३१ पाउण्ड बचत भएको कार्यक्रम संयोजक तथा आश्रम सञ्चालिका मन सुनुवार आलेले जानकारी दिइन्।

डेढ सय भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा पहिलो नेपाली तारा गायक दिपक लिम्बूको विशेष प्रस्तुतिका साथै गायिका शर्मिला बर्देवा र केहि स्थानीय कलाकारका विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो । कार्यक्रमको पहिलो सत्रमा सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले रत्न आश्रम असहाय बृद्धबृद्धाहरुको सहारा बन्न सफल भएको भन्दै यसका सञ्चालकहरुको पवित्र कार्यप्रतिको समर्पण प्रशंसनीय रहेको बताए । सामाजिक कामहरुको लागि सधै ठूलो रकम नै दान गर्नुपर्छ भन्ने नहुने भन्दै अध्यक्ष फगामीले खुशी र सफा मनबाट गरिएको जुनसुकैे सहयोग पनि समाजका लागि महत्वपुर्ण हुने धारणा व्यक्त गरे । आश्रमकी सञ्चालिका तथा कार्यक्रमकी सभापति मन सुनुवार आलेले असहाय बृद्धबृद्धाको लागि सकेको सहयोग गर्ने उद्धेश्यले आफ्नै परिवारको सहयोगमा आश्रम स्थापना र सञ्चालन गर्न सफल भएको बताइन् । आश्रममा आश्रय खोज्नेहरुको संख्या बढ्दै जांदा यसको व्यवस्थापनको लागि आर्थिक अभाव भएपछि कोष संकलनका लागि कार्यक्रम गरिएको उनले जनाइन् । कार्यक्रममा पारिका आलेले रत्न आश्रमको स्थापना, सञ्चालन र यसको अवस्थाबारे बिस्तृत जानकारीमुलक प्रिजेन्टेसन गरेकी थिइन् ।
बेलायतमा नर्सका रुपममा कार्यरत सुनुवारको पहल र उनको परिवारको सहयोगमा सन् २०१५ मा स्थापित रत्न आश्रममा अहिलेसम्म २ दर्जन बढि बृद्धबद्धाले सहारा पाइसकेका छन् । नेपालमा च्यारिटीका रुपमा दर्ता भइसकेको संस्थालाई बेलायतमा समेत च्यारिटीमा दर्ता गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म नेपालको सरकार तथा अन्य कुनै दातृ संस्थाहरुबाट कुनै सहयोग नपाएको रत्न आश्रम बेलायतस्थित सुनुवार परिवार र उनीहरुको आग्रहमा आफन्त, साथीभाइहरुले गरिरहेको सहयोगमा सञ्चालन हुंदै आएको छ । च्यारिटी कार्यक्रमको आयोजना उमेशराज मोक्तान, रस्मिता दर्लामी, सुशिला कार्की, शशी थापा सुब्बा लगायतको सहयोगमा गरिएको थियो । कार्यक्रममा रस्मिता दर्लामीले स्वागत मन्तव्य दिदै नेपालमा रहेका असहाय बृद्धबृद्धाको लागि सक्दो सहयोग गरिदिन आव्हान गरेकी थिइन् । कार्यक्रमको पहिलो सत्र शशी थापा सुब्बाले सञ्चालन गरेकी थिइन् । लक्ष्मी राई लाराले सञ्चालन गरेको कार्यक्रमको दोस्रो सत्रको मुख्य आकर्षण गायक दिपक लिम्बू थिए । पहिलो नेपाली तारा गायक लिम्बूले मुटु माग्यौ तिमीले, मैलै माया गर्न जानिन, आंखा आंखा लगायतका आफ्ना आधा दर्जन बढि हिट नम्बरहरु सुनाए । गायिका शर्मिला बर्देवाले पनि आफ्ना गीतहरु प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन गराइन् । त्यसअवसरमा शशी थापा सुब्बाको परिकल्पना र निर्देशनमा रस्मिता दर्लामी, पारिका आले र सुशिला कार्कीको अभिनयमा एक नाटक प्रस्तुत गरियो । बेसहारा बृद्धबृद्धाको सहयोगका लागि सन्देश दिने उक्त नाटक कार्यक्रमका सहभागीहरुले खुबै रुचाए । कार्यक्रममा रस्मिता दर्लामी, पारिका आले, सुस्मिता थापाका साथै मिर्फुंग युथ क्लब, वेम्बलीका कलाकारहरुले समेत विभिन्न नृत्यको आकर्षक प्रस्तुति देखाएका थिए । कार्यक्रममा एनआरएन यूके महासचिव आरके त्रिपाठी, व्यवसायीहरु मिन दर्लामी, वासु लामिछाने, प्रसुना कंडेल, विनोदविकास सिंखडा लगायतको बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी एबम पत्रकारहरु नबिन पोखरेल धुर्ब अर्याल,शिब भण्डारी,सिद्धार्थविक्रम क्षेत्री समेतको हरुको उपस्थिति थियो ।

फेसबुक कमेन्ट