रवि अर्याल ,
लण्डन । विगत चार वर्षदेखि होम अफिसको संघीन आरोप सहेर संघर्ष गरिरहेका बेलायतस्थित विदेशी विद्यार्थीहरुको एक समूहले मंगलबार बेलायती संसदमै पुगेर एक प्रभावशाली लबी सम्पन्न गरेको छ ।
अंग्रेजी भाषा परीक्षा टोइकको २ परीक्षा केन्द्रमा भएको अनियमितताका कारण होम अफिसले यूकेभरका ३३ हजार विद्यार्थीलाई सामूहिक आरोप लगाएको थियो । सरकारले अर्को अंग्रेजी परीक्षाको मौका नदिएर सिधै भिसा रिफ्युज गर्ने, कर्टेल ( दिएको भिसा पनि खोस्ने) गर्ने, धरपकड गर्ने, जेल हाल्ने र जबरजस्ती स्वदेश डिपोर्ट गर्ने निर्दयी कार्य गर्दै आइरहेको छ ।
जसको चौतर्फी विरोध भइरहेको छ भने अदालतद्वारा पनि यथेष्ट प्रमाण बिना यसो नगर्नु भन्दै केही निर्णयहरु भएका छन् । विद्यार्थीहरुलाई अर्को अंग्रेजी भाषा परीक्षा दिन लगाउने वा होम अफिसले नै अन्तवार्ता लिएर यो लथालिंग अवस्थालाई टुंगोमा पुर्याउन अनुरोध र दबाब दिने यो लबीको मुख्य उद्धेश्य थियो ।
माइग्रेन्ट भ्वाइस र टोइक पीडित विद्यार्थीको संयुक्त आयोजनमा भएको कार्यक्रममा बेलायती एमपीहरु रुसरना अली, रुथ क्याडवरी, स्टेफन टिम्स, विरेन्द्र शर्मा लगायतका एमपीहरुको संलग्नता रहेको उक्त कार्यक्रममा केही ब्यारिस्टरहरु पनि उपस्थित थिए । अब छिट्टै बेलायती संसदमा यो भाषा परीक्षाको लागि एकदिने डिबेट गर्ने आश्वासन सांसदहरुले दिएका थिए ।
उनीहरुले होम अफिसबाट टोइक पीडित विद्यार्थीहरुमाथि भएको अन्याय र दुव्र्यवहारको चर्को आलोचना समेत गरेका थिए । लबीमा विद्यार्थी,सिएनएन,गार्डियन लगायत मूलधारे पत्रिकाका पत्रकार ,मिडीयाकर्मी ,मान अधिकारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । यो टोइक भाषा परीक्षाको केसबाटट प्रभावित हुने नेपाली विद्यार्थीको संख्या करिब १३ सय छ ।








