लण्डन । बेलायतको अल्डरसटबाट १ साताभन्दा बढि समयदेखि हराइरहेका एक बृद्ध भूपू गोर्खा अहिलेसम्म पनि फेला पर्न सकेका छैनन् । गत जुलाई ४ तारिख बुधबारका दिनदेखि बेपत्ता ७४ वर्षीय धनपति राईको अवस्थाबारे १ साता भन्दा लामो समयसम्म पनि कुनै जानकारी भेटिएको छैन ।
स्थानीय ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्वासेले स्थानीय नेपाली समुदाय र आफ्नो संस्थासंगको सहकार्यमा प्रहरीले बेपत्ता राईको तिब्र खोजी गरिरहेको जानकारी दिए । अध्यक्ष बेल्वासेका अनुसार प्रहरीले बेपत्ता राईको खोजीका लागि तालिमप्राप्त कुकुरहरुदेखि हेलिकोप्टर समेत प्रयोग गरिसकेको छ । राई जान सक्ने सम्भावित ठाउंहरुको आंकलन गरी ती सबै ठाउंहरुमा खोजी अभियान चलाइएपनि अहिलेसम्म उनको अवस्था अज्ञात नै रहेको छ ।
गत जुलाई ४ तारिख बुधबार बिहान ७ बजे अल्डरसटको किङ्ग्स रोडमा अन्तिम पटक देखिएका राई त्यसयता पूरै सम्पर्कविहिन छन् । यसअघि कहिल्यै पनि उनी घरपरिवार तथा साथीभाइहरुबाट पूरै सम्पर्कविहिन भएर बसेको कुनै रेकर्ड नरहेको बताइएको छ । परिवारका अनुसार स्वास्थ्यका हिसाबले पनि खासै ठूलो समस्या नरहेका राईले अंग्रेजी भने निकै थोरै मात्रै बोल्न जानेका थिए । राईकी श्रीमती मनमाया अहिले अल्डरसटमै छन् भने उनका छोराछोरीहरु नेपालमा छन् ।
प्रहरीका डिटेक्टिभ इन्सपेक्टर लि म्याककेलनले बेपत्ता भएको १ सातासम्म लगातार खोजी गर्दा पनि राई नभेटेएिपछि आफुहरुलाई उनको अवस्थाबारे थप चासो बढेको बताएका छन् । उनको खोजीका लागि प्रहरीले बृहत अभियान नै सञ्चालन गरेको जानकारी दिदै इन्सपेक्टर म्याकलेननले बेपत्ता राईको खोजीमा सहयोग गर्न र उनलाई भेटेमा तत्काल प्रहरीलाई सुचना दिन स्थानीय समुदायलाई आग्रह गरेका छन् ।
राईले विगतमा अल्डरसटको टाउन एरिया भन्दा बाहिर क्याइसर क्याप्म क्षेत्र तथा वेलिङटन स्टाच्यु क्षेत्र आसपासमा हिडडुल गर्न रुचाउने गरेको भन्दै प्रहरीले ती क्षेत्रमा जानेहरुले उनलाई देखेको अवस्थामा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । राईलाई देखेमा वा उनीबारे कुनै जानकारी पाएमा प्रहरीलाई 101 नम्बरमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।






