लन्डनको पशुपतिनाथ मन्दिरलाई फ्रि होल्ड बनाउन यस्तो भयो,बृहत च्यारिटी [लाईभ’भिडियो/फोटो फिचर ]

लण्डन । युरोपमै नेपालीहरुको पहिलो हिन्दू मन्दिरका रुपमा स्थापित लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको  च्यारिटी विशेष कार्यक्रम एक समारोहबीच भब्य रुपले सम्पन्न भएको छ

युरोपमै नेपालीहरुबाट स्थापित पहिलो यस मन्दिर रहेको भवनलाई फ्री होल्ड गराउनका लागि आवश्यक कोष संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमबाट झन्डै ७० हजार पाउण्ड बराबरको कोष संकलन भएको जानकारी मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गोपाल अर्यालले दिए ।

मन्दिरको ट्रस्टी बोर्ड तथा आजीवन सदस्यता वितरण तथा कार्यक्रमको टिकट बिक्रीबाट उक्त रकम संकलन गरिएको हो । च्यारिटी कार्यक्रमको कुल खर्च सहित सम्पुर्ण हिसाबकिताबपछि अन्तिम विवरण केहि दिनमै सार्वजनिक गरिने बताइएको छ । प्लमस्टिडस्थित स्वामिनारायण मन्दिरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा च्यारिटी कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले लण्डनमा स्थापित श्री पशुपतिनाथ मन्दिरले सनातन हिन्दू धर्म र संस्कार मात्र नभएर बेलायतमा नेपालीहरुको पहिचानलाई समेत बचाउने काम गरेको धारणा व्यक्त गरे । ‘ धर्मले हाम्रो संस्कार बचाउने काम गर्छ, संस्कारले संस्कृति बचाउञ्छ र संस्कृतिले आफ्नो मौलिक जातिलाई बचाउने काम गर्छ’, राजदूत डा सुवेदीले थपे, ‘बेलायतमा हाम्रो नेपाली जाति बचाउने त्यहि महान अभियान यहि मन्दिरको स्थापना संगै सुरु भएको छ’ । मन्दिर तत्कालका लागि एक धार्मिक केन्द्रका रुपमा मात्र सिमित नरहेर पुस्तौ पुस्तासम्मको लागि बेलायतमा नेपाल र नेपाली पहिचान बचाउने एक महत्वपुर्ण माध्यम बन्ने विश्वास राजदूत डा सुवेदीले व्यक्त गरे । बेलायतमा नेपाली पहिचान बचाउने यो अभियानलाई निरन्तर राख्न आग्रह गर्दै राजदूत डा सुवेदीले मातृभूमी नेपाललाई पनि नबिर्सिन आव्हान गरे । स्थानीय ग्रीनवीच काउन्सिलका डेपुटी मेयर मिक हेजले साउथ इस्ट लण्डनमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको बताउंदै यस क्षेत्रमा स्थापित हुने मन्दिर यहाँका नेपालीहरुलाई मात्र नभएर अन्य समुदायको लागि पनि खुशीको विषय हुने बताए ।

एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले मन्दिरको विकासको लागि समाजका सबै तप्का र समुहको सहभागिता आवश्यक हुने भन्दै सोहि अनुसार अभियान अघि बढाउन सुझाव दिए ।

एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले मन्दिर केवल साउथ इस्ट लण्डनका नेपालीहरुको मात्र नभएर बेलायतवासी सम्पुर्ण नेपालीको लागि आस्थाको केन्द्र बनेको बताए ।

कार्यक्रमका सभापति तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले मन्दिरको भवनलाई फ्री होल्ड गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम आयोजना गरिएको बताए । मन्दिर सबैको साझा रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले भने, ‘मन्दिर आर्थिक सहयोग गर्ने दाताहरुको मात्रै होइन, मन्दिरको लागि सबै समान छन् र उनीहरु सबैको समान हक रहन्छ मन्दिरको नामामा दिएको सहयोग त दान हो, त्यो दान दिइसकेपछी हाम्रो रहदैन’ । च्यारिटी कार्यक्रमका संयोजक डा अच्युत धितालले मन्दिरको विकास र संरक्षणको लागि यो कार्यक्रमपछि पनि निरन्तर प्रयास हुनुपर्ने बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका संस्तापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल, च्यारिटी कार्यक्रमका सहसंयोजक तथा मन्दिरका ट्रस्टी बोर्ड संयोजक कर्ण शाही र मन्दिरका संरक्षक पण्डित निलहरि घिमिरेले मन्दिर स्थापनाको पृष्ठभूमीका बारेमा उल्लेख गर्दै मन्दिरको अहिलेसम्मको विकासक्रम र भावी लक्ष्यहरु बारे बताएका थिए । मन्दिर व्यवस्थापन समितिका महासचिव दाशु पाण्डेले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र कंडेलले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा स्थानीय ग्रीनवीच काउन्सिलका डेपुटी लिडर डेभिड गार्डनर , काउन्सिलर लक्ष्य गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मन्दिरका ट्रस्टी तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र तथा ब्याज वितरण गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका राष्ट्रीय कलाकार विमलराज क्षेत्रीले विभिन्न भजन कृतन प्रस्तुत गरेका थिए । पासा पुच गुठि साउथ इस्ट लण्डनका अध्यक्ष सुशील प्रजापतिले परम्परागत भैरव नाच देखाएका थिए । सांस्कृतिक कार्यक्रमको संचालन मन्दिरका ट्रस्टी बिनोद ज्ञवालीले गरेका थिए ।

कार्यक्रमस्थलमा ट्राफिक व्यवस्थापनको जिम्मेवारी मन्दिरका ट्रस्टी सुरज केसीले सम्हालेका थिए । कार्यक्रममा कोष संकलनका लागि गरिएको राफल ड्रका लागि पहिलो पुरस्कार ट्राभल कन्सोलका संचालक विराज भट्ट , दोस्रो पुरस्कार फाइनवे क्यास एण्ड क्यारीका राधा गिरी , तेस्रो पुरस्कार भर्मा ज्वेलर्सका बानु गुरुङ र चौथो पुरस्कार मदिराका ट्रस्टी यादव भण्डारीले सौजन्य गरेका थिए ।

लाईभ !! लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले आयोजना गरेको च्यारीटी कार्यक्रमको लाइभ, लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारी को साथमा..!!