देउवा सरकारको निर्णय बदरपछि यस्तो आयो कांग्रेसको प्रतिक्रिया

काठमाडौं– प्रमुख प्रतिपक्षी दल कांग्रेसले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ गतेपछि गरेका सवै निर्णय बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित भन्दै सरकार आफैंले मुलुकमा द्धन्द्व निम्त्याउन खोजेको प्रतिकृया दिएको छ ।

बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि कांग्रेसले प्रारम्भिक प्रतिकृया दिँदै उक्त निर्णय बदनियत र राजनीतिक पूर्वाग्रहका आधारमा गरेको जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नीति नियम भन्दा पनि दम्भ देखाउन थालेको बताए । उनले भने, ‘सरकारले सम्बृद्धिका लागि सहकार्य गर्नुपर्नेमा द्वन्द्व निम्त्याउन खोजेको छ । यसले राजनीतिक सम्बृद्धि हैन द्वन्द्व ल्याउने प्रष्ट छ । यदि यसरी सवै निर्णय उल्ट्याउने हो भने, अघिल्लो सरकारले निर्वाचन गराएको छ र त्यहि निर्वाचनमार्फत यो सरकार बनेको छ त्यसको बैद्यता कति रहन्छ ?’

प्रवक्ता शर्माले यस विषयमा आजै साँझ पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरेर विस्तृत धारणा सार्वजनिक गर्ने पनि बताए । ‘यो प्रारम्भिक प्रतिकृया हो सम्भवत भरे बेलुकासम्म पत्रकार सम्मेलन गरेर कांग्रेसको धारणा सार्वजनिक गरिन्छ’ शर्माले भने ।

रातोपाटी संवाददाता