लन्डन– लन्डनमा नेपाली युद्यमीले पोस्ट अफिसको स्वामित्व खरिद गरेका छन् । एनआरएन अभियन्ता एवं युवा उद्यमी कृष्ण तिवारीले पोस्ट अफिसको स्वामित्व (फ्रेन्चाइज ओनरसीप) लिएका छन् । एक लाख ९२ हजार पाउण्ड (करिब तीन करोड रुपैयाँ) मा ‘रेनर्सलेन पोस्ट अफिस (मेन)’ को स्वामित्व् गरिद गरेको तिवारीले जानकारी दिए । ‘२९ मे देखि मेरो मातहतमा पोस्ट अफिस सञ्चालन भइरहेको छ,’ लन्डन नेपाल न्यूज डट कमसँग टेलिफोनमा उनले भने, ‘औपचारिक उद्घाटन जुलाइ अन्तिमतिर बेलायती व्यापार मन्त्रीमार्फत गराउने योजना छ ।’ ८८ वटा विभिन्न सेवा प्रदान गर्ने पोस्ट अफिस बेलायतमा नेपालीले किनेकामध्ये पहिलो भएको तिवारीको दाबी छ ।

पोस्ट अफिस मेन बाट चिठी, डकुमेन्ट्ससहित ३० केजी तौल सम्मका सबै प्रकारका सामान विश्वभर पोस्ट, ब्रिटिश पासपोर्ट ‘चेक एण्ड सेन्ड’, ‘आइडी भेरिफिकेसन’, बैंकिङ कारोवार (अकाउन्ट खोल्न, डिपोजिट/सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट गर्न, क्रेडिट कार्ड लिन, मोर्गेज) आदि सेवा उपलब्ध छ । पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस-रेल डिस्काउन्ट पास आदि पनि उपलब्ध छन् ।
इमर्जेन्सी पोस्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेशल डेलिभरी’ व्यवस्था समेत छ ।
सातै दिन उक्त पोस्ट अफिस खुल्नेछ ।






