शिव भण्डारी
लण्डन । नेपाल लोक आइडल २०७५ को प्रबद्र्धन गर्ने उद्धेश्यले लण्डनमा एक कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगिताकोे प्रचार विभाग सदस्य एवम एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपानेले विहिबार एक कार्यक्रम आयोजना गरी नेपाल लोक आइडलबारे विभिन्न जानकारी दिए ।
साउथ ईस्ट लण्डनको प्लमस्टिडस्थित गोर्खा क्लब रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । नेपालस्थित सार्थक डिजिटल प्रा लि र जेब्रा क्रिएसनको संयुक्त आयोजना रहने नेपाल लोक आइडल लुकेर बसेका लोक संगीतका प्रतिभा खोज्ने पहिलो देशव्यापी कार्यक्रम हो ।
देशभरका ७७ वटै जिल्ला र ७ वटै प्रदेशका प्रतिभाहरुलाई एकत्रित गर्दै उनीहरुभित्रको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्य लिइएको छ । ७ वटै प्रदेशमा पहिलो चरणमा लोकप्रतिभाहरुको छनौट गर्ने र उनीहरुमध्येका उत्कृष्ट १० लाई काठमाडौं ल्याएर प्रशिक्षण गराएर अघिल्ला चरणको प्रतिस्पर्धा गराउने आयोजकले बताएका छन् ।
प्रतियोगिताको विजेतालाई नगद ३० लाख रुपिया, ट्रफी र प्रमाणपत्रसहित उनीहरुको आवाजमा विभिन्न गीत रेकर्ड गराएर म्युजिक भिडियो निर्माण गरिनेछ । दोस्रो हुनेलाई नगद १५ लाख तथा तेस्रो हुनेलाई नगद १० लाख सहित प्रमाणपत्र, ट्रफी र उनीहरुको पनि गीत रेकर्ड गराएर म्युजिक भिडियो निर्माण गरिनेछ । पहिलो चरणमा प्रदेश स्तरमा हुने अडिसनका मुख्य झलकहरु तथा दोस्रो चरणदेखिका सम्पुर्ण छनौट कार्यक्रमहरु राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गरिने बताइएको छ ।
नेपाल लोक आइडलको प्रबद्र्धनका लागि लण्डनमा आयोजित कार्यक्रममा यस प्रतियोगिताका प्रचार विभाग सदस्य तथा एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपानेले नेपालमा लोकसंगीत क्षेत्रका प्रतिभाहरु खोज्न यति ठूलो कार्यक्रम हुन लागेको पहिलो अवसर भएको बताए । लोक गीत, संगीत भनेको हाम्रो संस्कृति हो । हाम्रो पहिचान र जीवनशैली पनि हो, न्यौपानेले भने, त्यसकारण पनि नेपाल लोक आइडल एउटा विशुद्ध गायन प्रतियोगिताभन्दा पनि थप केहि हो भन्ने हामीलाई विश्वास छ ।
कार्यक्रमको अवधारणा र उद्धेश्यबाट प्रभावित भएर आफु पनि यसमा आबद्ध भएको भन्दै न्यौपानेले लण्डनमा प्रबद्र्धनको लागि कार्यक्रम गरिएको जानकारी गराए । बेलायतबो नेपाली समुदायभित्र लुकेर बसेका प्रतिभाहरु भए उनीहरु पनि नेपाल गएर राष्ट्रिय स्तरको प्लेटफर्मको सदुपयोग गर्न सकुन् भन्ने आफ्नो चाहना रहेको न्यौपानेले बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, एनआरएन अगुवा तथा युवा समाजसेवी विनोद ज्ञवाली, पासा पुच युके अध्यक्ष कुमार श्रेष्ठ, पशुपति मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, रोयल ग्रिनविच नेपाली सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, एनआरएनयूके सचिव सुरोज मास्के, ईनास ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठ, प्रतिभा नक्षेत्रका परिकल्पनाकार राजेन्द्र खस लगायतले नेपाल लोक आइडलको अवधारणा सहनीय रहेको भन्दै यसको सफलताको लागि शुभकामना दिएका थिए । उपस्थित पत्रकार तथा सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुमा प्रतियोगिताका प्रचार विभाग सदस्य तथा एनआरएन यद्दके उपाध्यक्ष न्यौपानेले जवाफ दिएका थिए । सोहि अवसरमा न्यौपानेले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठ र यूके अध्यक्ष रजनी सुनुवारलाई नेपाल लोक आइडलका तर्फबाट निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका सञ्चालक डा मुकुन्द बांस्तोलाले नेपाल लोक आइडलका प्रबन्ध निर्देशक जिवन पन्तको वक्तव्य पढेर सुनाएका थिए । कार्यक्रममा झण्डै १ दर्जन संख्याका बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुको साथै पासा पुच साउथ ईस्टका अध्यक्ष सुशील प्रजापति, नेपाली युथ एशोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङ, प्रतिभा नक्षेत्र अध्यक्ष सिम्मी पुन, एनआरएन यूके कार्यसमिति सदस्यहरु अर्कराज तिम्सिना र जित रानाभाट, तिलक भट्टराई लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायका प्रतिनिधीहरुको उपस्थिति थियो ।
नेपाल लोक आईडल २०७५ लाई स्वर्णिम अक्षरले लेखाएर देखाउने प्रतिबद्धताका साथ आयोजना गरिएको पत्रकार सम्मेलन मा लण्डन नेपाल न्यूज डट कम ले गरेको प्रतक्ष्य प्रसारण हेर्नुहोस :

Live London-नेपाल लोक आईडल २०७५ लाई स्वर्णिम अक्षरले लेखाएर देखाउने प्रतिबद्धताका साथ आयोजना गरिएको पत्रकार सम्मेलन मा लण्डन नेपाल न्यूज डट कम को प्रतक्ष्य प्रसारण मात्र शिव भण्डारीको साथ मा

Posted by London Nepal News on Thursday, 21 June 2018

फेसबुक कमेन्ट