काठमाडौं, फाल्गुन १९ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले भईरहेको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ४ सय १२ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा जारी खेलमा टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ११ रनको विशाल योगफल तयार पार्यो । जारी विश्वकपमा दक्षिण अफ्रिकाले ४ सयभन्दा बढी रन बनाएको यो लगातार दोस्रो अवसर हो । यसअघिको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ४ सय ८ रन हानेको थियो ।
आजको खेलमा दक्षिण अफ्रिकाको लागि हसिम अम्लाले १ सय ५९ रन तथा फाफ डु प्लेसीसले १ सय ९ रनको योगदान दिए ।
यसैगरी राईले रुसोले अविजित ६१ रन तथा डेभिड मिलरले अविजित ४६ रनको योगदान दिए । बलिङतर्फ आयरल्याण्डका एण्डी म्याकब्राईनले २ विकेट लिए । जवाफमा ४ सय १२ रनको विशाल लक्ष्य लिएर आयरल्याण्डले आफ्नो व्याटिङ सुरु गरिसकेको छ । जारी प्रतियोगितामा सुरुवाती दुई खेल जितेको आयरल्याण्ड आज लगातार तेस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा वेष्ट इण्डिजलाई हराएर सनसनी मच्चाएको आयरल्याण्डले दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो । उता दक्षिण अफ्रिकाले पनि प्रतियोगितामा सनसनीपुर्ण प्रदर्शन गरिरहेको छ । तीनमध्ये एक खेलमा हारेको दक्षिण अफ्रिका दुई खेल जित्दै ४ अंकको साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
आयरल्याण्डलाई ४ सय १२ रनको चुनौती






