प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई सभामुख महराको निर्देशन

काठमाडौं– सभामुख कृष्णबहादुर महराले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न संघीय संसदका सांसदहरुलाई आग्रह गरेका छन् ।

संसदीय प्रक्रिया सम्बन्धी संघीय संसदका सदस्यहरुका लागि बुधबार संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चालित जानकारीमुलक कार्यक्रममा सभामुख महराले सक्रिय, श्रृजनशील र प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुको ध्यानाकर्षण गराएका हुन ।

मिनि पार्लियामेण्टको रुपमा भुमिका निर्वाह गर्ने संसद र सांसदहरुले सरकारलाई आवश्यक पर्ने नीति, नियम, कानुन बनाउनुपने भएकाले अध्ययनशील हुन पनि उनले सचेत गराए ।

संसदले निर्माण गर्ने कानुन र नीतिका आधारमा राज्यको सुव्यवस्था कायम हुने उल्लेख गर्दै उनले सरकार कानुन अनुसार चल्यो चलेन भनेर अनुगमन गर्न जिम्मेवारी पनि संसदको भएकाले सांसदहरुको सहभागिता र सक्रियता अत्यावश्यक रहेकोमा जोड दिए ।

सभामुख महराले संसद सञ्चालन नियमावलि बनिसकेपछि संसद अन्तरगतका समितिका साथै अन्य संसदीय प्रक्रिया पनि संञ्चालन हुने भएकाले सबै सांसदहरुको सक्रियता अत्यावश्यक हुने बताए ।

सांसदहरुलाई संसदीय प्रक्रिया सम्बन्धी जानकारी दिने उद्देश्यले संघीय संसद सचिवालयले २ दिने जानकारीमुलक कार्यक्रम संञ्चालन गरेको हो ।