अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेप र यससँग जोडिएका अन्य मामलाको अनुसन्धानको विषयमा आफूले आफैंलाई क्षमदान दिन ‘सम्पूर्ण अधिकार’ भएको बताएका छन् । यद्यपी, ट्रम्पले आफूले केही पनि गल्ती नगरेको पनि बताएका छन् ।
यसो भनेर अमेरिकी राष्ट्रपतिले त्यही कुरा दोहोराएका छन् जो उनका वकिलले अनुसन्धानको नेतृत्व गरिरहेका स्पेशल काउन्सिललाई जनवरीमा दिएको ज्ञापनपत्रमा उल्लेख गरेका थिए ।
आफ्नो ट्वीटमार्फत ट्रम्पले पुनः त्यो अनुसन्धान प्रक्रियालाई निशाना बनाएका छन् जसमा ट्रम्पले चुनावी अभियानमा रुससँग साँठगाँठ वा न्यायमा बाधा पुर्याउने कोसिस गरे नगरेको विषयमा निष्कर्ष निकाल्न खोजिएको छ ।
संविधान विशेषज्ञले उनले आफूलाई क्षमा गर्छन् वा गर्दैनन् भन्ने बारे भिन्न धारणा राखेका छन् ।
के लेखे ट्रम्पले ?
ट्रम्पले सोमबार ट्वीट गरेका छन्, ‘कानूनका थुप्रै जानकारले भनिसकेका छन् कि मैले आफूलाई क्षमा गर्ने पूरा अधिकार छ । तर मैले यस्तो किन गरुँला जबकी मैले केही गलत गरेकै छैन । यसैबीच मसँग अत्यधिक रिसाएका र आपसमा मतभेद राख्ने १३ डेमोक्रेट्स (र अन्य) को नेतृत्वमा मेरो विरुद्ध कहिले समाप्त नहुने अभियान जारी छ ।’
एक अन्य ट्वीटमा उनले लेखेका छन्, ‘स्पेशल काउन्सिलको नियुक्ति पूर्ण रुपमा असंवैधानिक छ । यति हुँदा हुँदै पनि हामी नियमको पालना गर्नेछौं, किनभने मैले केही गलत गरेकै छैन ।’
ट्रम्पले जुन ‘१३ डेमोक्रेट’ उल्लेख गरेका छन्, ती स्पेशल काउन्सिल रोबर्ट मूलरको समूहमा संलग्न १७ अनुसन्धानकर्तामध्ये भएको अनुमान गरिएको छ । तर ट्रम्पले कसलाई इशारा गरिरहेका छन्, त्यो स्पष्ट हुन सकेको छैन ।
ट्रम्पले यस्तो किन भने ?
सोमबार बिहान ह्वाइट हाउसकी सल्लाहकार केलिएन कान्वेलाई एक पत्रकारले राष्ट्रपतिले आफूलाई क्षमा गर्ने कुरा किन गरे भनेर प्रश्न सोधे ।
यसको जवाफमा उनले भनिन्, ‘जब उनले केही गल्ती नै गरेका छैनन् भने उनले आफूलाई क्षमदान गर्न आवश्यक नै छैन । तपाईंलाई यस्ता काल्पनिक कुरामा संलग्न भइरहन मनपर्छ । मलाई लाग्छ कि उत्तर कोरिया र व्यापार नीतिको जटिलताको तुलनामा यसलाई बुझ्न निकै सजिलो छ ।’
ट्रम्पले यो टिप्पणी त्यतिबेला गरेका हुन् जब एक दिन अघि अर्थात् आइतबार उनका वकिलले विभिन्न टेलिभिजन च्यानलमा ‘आफूलाई क्षमा गर्ने’ मुद्दामा कुरा गरेका थिए ।
ट्रम्पका वकिल रुडी गियूलियानीले एबीसीको कार्यक्रम ‘दिस वीक’ मा ‘ट्रम्प आफूले आफैंलाई क्षमा गर्ने मनसायमा छैनन्’ भन्ने जानकारी दिए । ‘सायद उनीसँग यस्तो शक्ति छ,’ उनले थपे ।
गियुलियानीले एनबीसीको ‘मीट द प्रेस’ कार्यक्रममा भने, ‘आफैंलाई क्षमादान दिनेबारे सोच्न पनि सकिँदैन । यसो गरिए तुरुन्त महाभियोग सुरु हुनेछ । उनले यस्तो गर्नुपर्ने आवश्यक नै छैन किनभने उनले केही गल्ती नै गरेका छैनन् ।’






