काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको ६ दिन भएको छ । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
मन्त्रालयको टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो ।
फोरमले परराष्ट्र र सहरी विकास मागेको छ ।
तर, नेकपाले स्वास्थ्य र सहरी विकास मन्त्रालय फोरमलाई दिन चाहेको छ ।
यहीँ विवादले सहमति भएको ६ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।
त्यसैबीच प्रधानमन्त्रीको सचिवालयका अनुसार फोरमले मन्त्री बन्नेको नाम बुझाए आजै मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ ।
सचिवालय स्रोतले भन्यो ‘ठ्याक्ककै समय त फिक्स भैसकेको छैन, तर आपसी कुराकानी भैरहेको छ । ’
गत जेठ १४ गते सत्तारुढ दल संविधान संशोधन गर्न तयार भएपछि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादववीच २ बुँदे सहमति भएको थियो ।
सात वर्षपछि उपेन्द्रको सत्तारोहण : यसकारण जाँदैछन् सरकारमा
सहमतिमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा संविधान संशोधन गरेर अगाडि बढ्ने उल्लेख छ ।
‘सहमति लगत्तै फोरमले सरकारमा जाने मन्त्रिहरुको नाम दिने र सकभर बजेट ल्याउदा नै फोरम सरकारमा सामेल भइसक्ने गरी कुराकानी भएको हो तर, अहिलेसम्म उहाँहरुले आफ्नो तयारी नसकेर नै सपथमा ढिलाइ भएको देखिन्छ’ नेकपाका एक नेताले बताए ।
केले रोक्दैछ राजपा नेपालको सत्तारोहण ?
प्रधानमन्त्री ओली र प्रचण्डसँग २ बुँदे सहमति गरेपछि फोरमको बैठक बसेर आफ्नो भागमा परेका २ मन्त्रालयमा पठाउने नेताको नाम छनोट गर्न अध्यक्ष यादवलाई नै जिम्मेवारी दिएको थियो । तर, फोरममा मन्त्रीका आकांक्षी धेरै भएपछि नाम टुङगो लगाउन ढिलाई भएको बताइएको छ ।






