ट्रम्प किम वार्तामा यी व्यक्ति पनि सहभागी हुने ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनको जून १२ मा हुने भनिएको शिखरवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मून जे- इन पनि सहभागी हुनसक्ने सम्भावना दक्षिण कोरियाली अधिकारीहरूले व्यक्त गरेका छन् ।

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले मूनको सम्भावित सहभागिताबारे प्रारम्भिक चरणमा छलफल भइरहेको जानकारी दिएको छ ।

ट्रम्प-किम शिखरवार्ता अघि गरिने अन्य छलफलको प्रगतिका आधारमा मूनको सहभागिताबारे निर्णय लिइने बताइएको छ ।

सिङ्गापुरमा जुन १२ मा हुने तय भएको सो ऐतिहासिक शिखरवार्तामा सहभागी नहुने भन्दै ट्रम्पले गत हप्ता एउटा पत्र उत्तर कोरियाका नेतालाई पठाएका थिए ।

किमले देखाएको आक्रोश र वैरभावका कारण निर्धारित भेटका लागि समय अनुकुल नभएको ट्रम्पको तर्क थियो ।

त्यसले केही अनिश्चितता देखिएको भए पनि भोलिपल्ट्टै उनले वार्ताको सम्भावना कायम रहेको बताएका थिए ।

ट्रम्प र किमले के विषयमा छलफल गर्लान् भन्ने स्पष्ट नभए पनि उनीहरूको भेट कोरियाली प्रायस्द्वीपको तनाव कम गर्ने र उत्तर कोरियाको परमाणु निरस्त्रीकरणका तरिकामा केन्द्रित हुने विश्वास गरिएको छ ।