काठमाडौँ– सरकारले आगामी आर्थिक २०७५-७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।
-मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
-एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।
-राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संसद भवन परिसरलाई सिंगारिएको छ ।
-सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ ।
-नेपालको संविधानमा माथिल्लो सदनका रूपमा राष्ट्रियसभा र तल्लो सदनका रूपमा प्रतिनिधिसभा छन् ।
-प्रवुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन् ।
-नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरुप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट तयारीसमेत भइरहेको छ ।
-संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।
-संयुक्त बैठक सकिएलगतै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ ।
-सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ ।
-त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।






