एकीकृत पार्टीको महासचिवमा पौडेल, प्रवक्तामा नारायणकाजी, स्थायी कमिटी थपियो

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच बन्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्य संख्या थप गरिएको छ । एमाले र माओवादीका १–१ जना सदस्य थप गरेर ४५ सदस्सीय बनाइएको छ ।

जसअनुसार एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहनेछन् ।

यसैबीच ९ सदस्सीय सचिवालय गठन गरिएको एकीकृत पार्टीको महासचिव विष्णु पौडेल हुने भएका छन् ।

यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ हुने एमाले प्रचारविभाग प्रमुख यागेश भट्टराईले जानकारी दिए ।

सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम .रहने छन् ।

खनाल र नेपाल वरिष्ठ नेताको भूमिकामा रहनेछन् ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताएका थिए ।

उनले टुटफुटको विगतको इतिहासलाई समेत आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन भएका प्रयासका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिन एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।

संघीय संसद्, प्रदेश, स्थानीय तहमा समेत वाम शक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले दुई ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमा समेत खुशीको सञ्चार भएको बताए ।

उनले एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने र तत्कालीन कार्यक्रमका रुपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई अंगिकार गर्ने सहमति भएको जानकारी दिएका थिए ।