तीस रुपियाँमा लखपति बने बर्दिवासका मुसहर !

http://puleso.com/wp-content/uploads/2015/03/mushar.jpgबर्दिवास, १७ फागुन । बर्दिवास नगरपालिका वडा नं.– २ र ३ का मुसहर लगायतका गरिव तथा विपन्न समुदायका धेरै व्यक्ति तीस रुपैयाँ तिरेर लखपति भएका छन् । सुन्दा अच्चम लाग्न सक्छ तर, कुरो सत्य हो । वर्षौदेखि गाउँ ब्लकको जग्गामा घर बनाएर बसोवास गर्दै आएका उनीहरू सुकुम्वासी जीवनबाट मुक्त भएका छन् ।

विगत चार दशकभन्दा बढी समयदेखि बर्दिवास गाविसमा बसोबास गर्दै आएका दलित तथा जनजाति लगायतका समुदायलाई नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग, नापी कार्यालय महोत्तरीले बुधवार गाउँमै आएर उनीहरूलाई लालपूर्जा वितरण गरेको हो ।

मुसहर वस्ीतका लक्ष्मी सदालाई गाउँ ब्लक जग्गामा बसोबास गरेको ४० वर्ष भन्दा बढी भईसकेको थियो । गत साता बुुधबारको दिन उहाँको लागि जीवनकै सबैभन्दा बढी खुशियालिको दिन रह्यो । सदाले बसोबास गरेको १ कठ्ठा ८ धुर जग्गाको लालपूर्जा हातमा परेपछि निकै हर्षित भए । सुकुम्बासीको नामले परिचय पाएका लक्ष्मी सदा २८ लाख भन्दा बढी रकम बराबरको जग्गाधनी बनेका छन् । भन्छन्, ‘ढिलै भए पनि हाम्रो दुःख सरकारले बुझिदियो, जग्गाको मालिक नहुने मान्छेलाई सुकुम्बासीको पीडा थाहा हुँदैंन, जग्गा पाएर म निकै खुशी छु, हाम्रो मुसहर वस्तीमा खुशी छाएको छ ।’ 

लक्ष्मी सदा जस्तै अर्को पात्र हुन् मुसहर बस्तिकै सनेचरी सदा । आफ्नै नाम र तस्वीर टाँसेको जग्गा धनीको लालपूर्जा पाएपछि  ३५ वर्षीय सनेचरी सदाको खुशीको कुनै सीमा रहेन । आयोजकले सनेचरी सदाको नाम उद्घोष गर्न नपाउँदै हतारीदै मञ्चमा पुगेर लालपूर्जा लिए । पौने दुई धुर जग्गामा एउटा सानो झुपडी बनाएर बसोबास गर्दै आएकी सनेचरीको परिचय बदलिएको छ । हिजोसम्म उनी सुकुम्बासी थिइन् । तर अब उनी पनि पौने दुई लाख बराबरको जग्गाको धनी बनेकी छन् । उनी भन्छिन्, ‘सधै जंगलबाट दाउरा ल्याएर बिक्री गरी परिवार चलाउने मानिसले जग्गाको लालपूर्जा पाउनुभन्दा ठूलो कुरा अरु के हुन्छ ?’ 

यी तीन सुम्कुम्बासी जस्तै दर्जनौले जग्गा धनीको लालपूर्जा पाएका छन् । लक्ष्मी सदा र सनेचरी त उदाहरण मात्र हुन् । 

बर्दिवास नगरपालिका दुई वडाका  ९५ जनाले एकै साथ जग्गाको लालपूर्जा पाएका छन् । मुसहर, परियार, थापा, सुनवार लगायतका आधा दर्जनभन्दा बढीले आफ्नै घर आगनमा आफूले वर्षौदेखि बसोबास गर्दै आएको जगाको लालपूर्जा पाएका हुन् । 

नापी कार्यालय महोत्तरीले मात्र तीस रुपियाँ राजस्व लिएर सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा दिएर जग्गाधनी बनाएको हो । उनीहरूले पाएको एक धुर जग्गाको मूल्य एक लाखको हाराहारीमा रहेको छ । 

‘आफ्नो नाममा जग्गा छैन भने जग्गाको कुनै हरहिसाब हुदैंन ।’ नेकपा एमाले बर्दिवास नगरपालिका नगर कमिटीका सचिव गुञ्जबहादुर खड्काले भने, ‘सुकुम्बासीहरूलाई आत्मसम्मान र गर्व महशुस भएको छ । उनीहरूको जग्गाले पनि परिचय दिएको छ । मुसहर बस्तीमा मनमोहक रंगले होलीको पूर्व सन्ध्यामा मुसहर ीिस्त रंगिएको छ ।’ 

 ९५ जनामध्ये ३५ जना त मुसहर समुदायका नै रहेका छन् । भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा जग्गाधनीलाई दिएको हो ।  करीब ५० कठ्ठा गाउँ ब्लककोे लालपूर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको नापी कार्यालय महोत्तरीका अमिन जसविन्द ठाकुरले बताए ।

बर्दिवासका सुकुम्बासीहरूको तीन वर्ष देखिको लामो अथक प्रयासबाट आफुले भोग चल्न गर्दै आएको जग्गाको लालपूर्जा दिन सफल भएको नापी  कार्यालयका १ नम्बर टोलीका प्रमुख विजय सहनीले बताए । ‘एक वर्षको अथक प्रयासबाट हामीले गाउँ बल्क जग्गाको नापी नक्सा गरेर सुकुम्बासीलाई जग्गाको लालपूर्जा दिइ धनी बनाएका हौं’ सहनीले भने, ‘कयौं पटक हामीले सर्वजनिक सूचना निकाल्यौ र पछि भोगचल्न गर्दै आएकाहरूको नाममा लालपूर्जा दिलायौं, सुकुम्बासीको जीत नै हाम्रो टोलीको पनि जीत हो । ’

सुकुम्बासीहरूको नेतृत्व गर्ने बर्दिवासका गोविन्दप्रसाद पौडेलले तीन वर्ष जलेश्वर धाएको फल सबैले पाएकोमा खुसी व्यक्त गरेका छन् । – राजकरण महतो