काठमाडौँ। कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल–थानीको हो ।
कतारका महत्वपूर्ण परियोजनाहरू बनाउने जिम्मा लिएको एजकेएचले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरूको चारदेखि ७ महिनाको तलब रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ । त्यस कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् ।
अलपत्र परेका कामदारको गत मार्च २७ देखि काम रोकिएको हो । उनीहरूलाई कम्पनीले कतारको सनैयास्थित ३६, ४१ र अल्खोरस्थित क्याम्पमा राखिएको छ । ‘तलब नदिएपछि भोको पेटले काम गर्न सकिँदैन,’ ११ वर्षदेखि पेन्टिङको काम गर्दै आएका लमजुङका गणेशबहादुर तामाङले भने, ‘लेबरको चार महिनाको तलब र तीन महिनाको ओभरट्याम पाउन बाँकी नै छ ।’
कम्पनीमा उनीहरुलाई नियमीत छाक टार्न नै मुस्किल भइरहेको छ । ‘हामीले नजिकैको पसलबाट उधारोमा खाद्यान्न खरिद गर्ने गरेका थियौं । पसलेले उधारोमा सामान दिनसमेत बन्द गर्यो,’ उनले भने, ‘अरू कम्पनीमा काम गर्ने नेपाली साथीसँग पैसा माग्दै दही र रोटी खाएर छाक धानिरहेका छौं । कान्तिपुर दैनिक






