काठमाडौं, १६ फागुन । एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाको वृहत जनसभाका क्रममा आदीवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता ओम गुरुङले पहिचान र अधिकारको रक्षाका आफूहरू लठी मात्र होइन बन्दुक पनि उठाउन तयार रहेको बताएका छन्।

सम्बोधनका क्रममा उनले भने, ‘हाम्रा युवाहरुको दस्ता बनीसकेको छ। आवश्यकता परेमा हाम्रा आदीवासी युबा लठ्ठीमात्र हैन बन्दुक पनि उठाउन तयार छन्।’
सभालाई सम्बोधन गर्दै गुरूङले आफूहरूको ऐक्यवद्दता यो आन्दोलनलाई मात्र नभएर पहिचान, संघीय गणतन्त्र र जन अधिकारको पक्षमा रहेको बताए।
उनले भने,‘यतिबेला आदीवासी जनजातिको पहिचान र अधिकार स्थापित हुने संविधान जारी भएको हामी हेर्न चाहन्छौ। तर सत्तापक्षको नियत र क्रियाकलाप हेर्दा आदीवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सुदुरपश्चिमका खसानको अधिकार रक्षा गर्ने भन्दा पनि यथास्थितीबाद तर्फ धकेल्न चाहेका छ।’






