काठमाडौ– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफ्नो भारत भ्रमण अघि नै पनि पार्टी एकता हुन सक्ने बताएका छन् ।
सोमबार एमाले पार्टी कार्यलयमा पत्रकार तथा लेखक कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै ओलीले पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा गर्ने बताएका हुन् । ‘एकता हुन्छ, हुन्छ । भारत भ्रमणअघि पनि हुनसक्छ, पछाडि पनि हुन सक्छ । यो हतारो गर्ने कुरा हैन र ढिलो गर्ने कुरा पनि होइन । उपयुक्त समयमा पार्टी एकता घोषणा गरिन्छ’ सम्बोधनका क्रममा ओलीले भने ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले बाम गठबन्धनको सरकार बनेपछि काँग्रेस र उसका नेताहरुमा जलन भएको बताए । उनले बल्न नपाएको चुल्हो बालौ भन्दा चुलो बलिरहेकाहरुलाई के को जलन, किन आपत्ति ? भनेर प्रश्न गरे ।
‘हामीले गरिवलाई धनि बनाउछौ भनेका हौ, धनीको खोस्ने भनेको होइन, ३६ प्रतिशत गरिविको रेखामुनि रहेका जनतालाई धनी बनाउछौं भन्दा आत्तिनुपर्ने कारण छैन’ ओलीले भने ‘छिमेकीसँग विश्वसनीय सम्बन्ध बनाउन चाहान्छौ ।’
नेपालको विकासमा छिमेकीलाई समेत साथ लिएर अघि बढ्ने योजना सरकारको रहेको प्रधानमन्त्रीले बताए । ‘तीन बर्षमा विकासशिल राष्ट्रमा पुग्छौ । १३ बर्षमा दिगो विकास हासिल गर्ने लक्ष्य पुरा गर्छौ, उत्पादनमा बृद्धि, गर्छौ ।’ उनले राजनीतक संक्रमण टुगिएको भन्दै सम्बृद्धिको संक्रमण सुरु भएको बताए ।
कार्यक्रममा पत्रकार कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहति सम्मान गरिएको थियो । सम्मानित कोइरालाले आफुले पाएको सम्मानको रकम बाराका पत्रकार स्व.वीरेन्द्र साहकी श्रीमति उमारावती साहलाई हस्तानतरण गर्ने घोषणा गरेका थिए ।






