काठमाडौं- एमाले– माओवादी पार्टी एकताका लागि गठित छुट्टा्छुट्टै कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाउने अन्तिम तयारी गरेका छन् ।
प्रतिवेदनलाई अन्तिम रुप दिन कार्यदलस्तरमा गृहकार्य तीव्र बनाएको नेताहरुले बताएका छन् । यसअघि दुवै कार्यदलले उपसमिति बनाएर मस्यौदा निर्माण गर्ने जिम्मेवारी दिएका थिए । उपसमितिले कार्यदलमा आ–आफ्नो प्रारम्भिक मस्यौदा बुझाइसकेका छन् । ति मस्यौदा कार्यदलमा छलफल गरेर अन्तिम रुप दिन लागिएको हो ।
आगामी बुधबार बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठकमा पेश गर्नेगरी प्रतिवेदन तयार पार्नेगरी गृहकार्य भइरहेका दुवै कार्यदलका नेताहरुको भनाई छ ।
प्रधानमन्त्री केपी ओलीको चैत तेस्रो साता हुने भारत भ्रमण अगावै पार्टी एकता गर्ने एमाले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति र निर्देशनसँगै कार्यदलले आफ्नो गृहकार्य तिव्र बनाएका हुन् ।
एमाले नेता माधव नेपालको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन कार्यदलको बैठकले बुधबारसम्म बैचारिक–राजनीतिक एजेण्डा सहितको प्रतिवदेन टुंगो लगाउने निर्णय गरेको छ ।
।
त्यस्तै विधान मस्यौदा कार्यदलको बैठक सोमबार बस्दैछ । बैठक सोमबार बस्ने र प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भएको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए ।
‘सोमबार कार्यदलको बैठक बस्ने कुरा छ सायद सोमबार बैठक बसे कार्यदलले पाएको जिम्मेवारी अनुसार प्रतिवेदनलाई अन्तिम रुप दिइन्छ’ कार्यदल सदस्य पाण्डेले भने, ‘बैठकमा कार्यदलले बनाएको उपसमितिले तयार पारेको मस्यौदामा छलफल र आवाश्यक परिमार्जन गरेर संयोजन समितिलाई बुझाइन्छ ।’
अर्का सदस्य बेदुराम भुषालका अनुसार उपसमितिले तयार पारेको प्रारम्भिक मस्यौदामा छलफल गर्न सोमबार कार्यदलको बैठक बस्ने तयारी छ ।
‘उपसमितिले तयार पारेको मस्यौदामा राज्यको संरचना अनुसारकै पार्टीका संगठानात्मक ढाचाहरु बनाइएको छ । जसअनुसार केन्द्रीय कमिटि, पोलिटव्युरो र स्थायी समिति हुनेछन् । पार्टीमा २ अध्यक्ष हुने यसअघि नै सहमति भैसकेको छ ’ सदस्य बेदुराम भुषालले बताए ।
त्यस्तै एकीकृत पार्टीमा निर्वाचन, अनुशासन र लेखासम्बन्धी काम गर्ने छुट्टाछुट्टै अयोग तथा गाउ, नगर र प्रदेश र जिल्ला कमिटिका संरचना बनाइने छ । जसको मुल राजनीतिक सिद्धान्त ‘माक्सबाद–लेनिनबाद’ हुनेछ ।
विधान मस्यौदा कार्यदलको संयोजक मओवादी नेता रामबहादुर थापा बादल छन् । ११ सदस्यीय थापा नेतृत्वको कार्यदलबाट संयोजक थापासहित सात जना मन्त्री बनेपछि यसअघि पार्टी एकताको काम प्रभावित बनेका समाचारहरु पनि आएका थिए ।
यद्यपी नेताहरुले काम भइरहेको र दुवै पार्टीका अध्यक्षको निर्देशन बमोजिम प्रतिवेदन तयार हुने दावी गरेका छन् ।
थापा नेतृत्वको कार्यदलका सदस्यमध्ये संयोजक थापा गृहमन्त्री बनेका छन् भने ईश्वर पोखरेल रक्षा, गिरीराजमणी पोखरेल स्वास्थ्य, रघुवीर महासेठ भौतिक योजना, बर्षमान पुन उर्जा र मात्रिका यादव उद्योग मन्त्री भएका छन् ।
उता, नेता नेपाल संयोजक रहेको एमाले संसदीय दलको कार्यालयमा आईतबार बसेको बैठकले आगामी बुधबार राजनीतिक प्रतिवेदन टुंग्याउने निर्णय गरेको हो ।
राजनीतिक बैचारिक एजेण्डा बनाउन राजनीतिक प्रतिवेदन उपसमितिले तयार गरेको मस्यौदामाथि आईतबार कार्यदलमा छलफल भएपनि अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले बताएका छन् ।
आइतबारको छलफलमा १४ गते प्रतिवेदनको टुंगो लगाउने निर्णय भएको कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।
‘प्रतिवदेनमा दुवै राजनीतिक पार्टीको विश्लेषण, क्रान्तिको चरित्र, पार्टी निर्माण, विश्व परिस्थिति लगायतका विषयमा नयाँ बन्ने पार्टीको आधिकारिक धारणा समावेश गरिएको छ । त्यसलाई थप छलफल गरेर टुङ्ग्याउने प्रयास भइरहेको छ । सकेसम्म सोमबार पनि कार्यदलको बैठक बसेर अन्तिम रुप दिने तयारीमा छौं’ नेता नेम्वाङले बताए । अर्का सदस्य देवेन्द्र पौडेलले प्रतिवेदन लगभग तयार भैसकेको भन्दै कार्यदलका सदस्यहरुले अध्ययन गरेर कहिँकतै भाषा सच्चाउनुपर्ने भए त्यो काम पनि गरेर प्रतिवेदन बुधबार बुझाइने बताए ।
गत फागुन १० गते पार्टी एकता संयोजन समितिले २ कार्यदल गठन गरेर पार्टी एकताका आधार मानिने मस्यौदा तयार गर्न निर्देशन दिएको थियो । सुरुमा १५ दिनको समयसीमा पाएका दुवै कार्यदलले समयसीमामा काम गर्न नसकेपछि पुन समय थपिएको थियो ।






