ललितपुर । नेपालमा पहिलोपटक बनेको कलंकी खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ।
आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। कलङ्की-कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ।
‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो। माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ। उनले भने, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ।” सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्राक पनि माथि नै हुने उनी बताउछन्।
अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रुपमा महँगो भएको उनी बताउछन्। कोटेश्वर-कलङ्की सडक निर्माणको जम्मा बजेट रू पाँच अर्ब हो। ‘अण्डर पास’ लाई कलङ्की-थानकोट सडकको जाम हटाउने उपायका रुपमा हेरिएको छ।
उनी भन्छन्, “उपत्यकाभित्रै र बाहिर आउने/जाने यात्रुले अब घण्टौँ जाममा फस्नुपर्ने छैन।” चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर-कलङ्की सडक निर्माणको ठेक्का लिएको छ।
भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो। समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ। रासस






