काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
राजधानीको होटल सोल्टीमा विहान ९ः४० देखि साढे १० बजेसम्म ५० मिनेटसम्म भएको भेटवार्तामा दुई पक्षीय हित, आपसी चासो र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ ।
भेटपछि प्रचण्डले चुनावपछिको अवस्था र सरकार गठनको तयारीका बारेमा स्वराजसँग कुराकानी भएको बताए ।
स्वराजले नेपालको चुनावपछिको अवस्था र सरकार गठनको बारेमा जिज्ञासा राखेको प्रचण्डको भनाई छ । स्वराजले अब नेपाल अघि बढ्छ भनेर चासो राखेको समेत प्रचण्डको भनाइ थियो ।
भेटमा छिमेकीसँगको सहयोग र सम्बन्ध राम्रो बनाएर आफूहरुले स्थायीत्व र विकास चाहेको धारणा राखेको पनि प्रचण्डले बताए । जवाफमा स्वराजले नेपालको स्थायित्व र विकासमा भारतको सम्पूर्ण सहयोग रहने बताएकी थिइन् । स्वराजले वामगठबन्धले जितेकोमा बधाइ समेत दिएकी थिइन् ।
स्वराजले हिजो एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी थिइन् । उनी ओलीकै निमन्त्रणमा नेपाल आएको बताइएको छ ।






