कांँग्रेस, एमालेले दम्भ नत्यागे आन्दोलन : प्रचण्ड

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांँग्रेस र नेकपा एमालेले बहुमतको दम्भ र अहङ्कार नत्यागेसम्म एमाओवादीलगायत ३० दलीय मोर्चाले सुरु गरेको शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढ्ने चेतावनी दिनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले शान्तिपूर्ण आन्दोलनबाट पनि उहाँहरु झुक्नुभएन भने त्यो बीचमा जेजस्ता घटना हुन्छन् त्यसप्रति ती दुवै पार्टी जिम्मेवार हुने धारणा राख्नुभयो ।
बहुमतको भोटेताल्चा लगाएर वार्तामा बोलाउनुको कुनै अर्थ नहुने बताउँंदै अध्यक्ष दाहालले आन्दोलन रफ्तारमा अघि बढ्छ, जनताले गर्ने निर्णायक आन्दोलनका अगाडि उहाँहरु अन्तिममा झुक्नै पर्दछ भन्नुभयो ।
बाह्रबँुदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको विचार व्यक्त गर्दै उहाँले एमाओवादी संविधानका विवादित अन्तर्वस्तुमा अधिकतम लचिलो बन्दा पनि काँग्रेस र एमालेका केही नेतामा सहमतिप्रति तत्परता र जाँगर नदेखिएको बताउनुभयो ।
संविधान निर्माणमा अल्पमत र बहुमतको विषय विश्वका कुनै पनि मुलुकमा नभएको जिकिर गर्दै अध्यक्ष दाहालले ती दुवै पार्टीले सहमति भाँड्ने र सत्तामा बसिरहने मनस्थिति बनाइराखेकाले सहमतिको वातावरण बिग्रेको आरोप लगाउनुभयो ।