एनआरएन अध्यक्ष भवन भट्ट, गर्भनर नेपाल र व्यवसायी ढकाल लन्डन आउने

लन्डन- नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लन्डन आउने भएका छन् ।

एनआरएन यूकेको आयोजनामा २२ जनवरी, सोमबार हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नेपाल, ढकाल र भट्ट यहि महिनाको तेस्रो साता लन्डन आउन लागेका एनआरएनए यूकेका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए । तीनैजनाले सम्बोधन गर्ने कार्यक्रम छ ।

गर्भनर नेपालले अल्डरसटमा स्थापना हुन लागेको ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय उद्‍घाटन गर्ने अपेक्षा गरिएको छ । उनीहरुले समृद्ध नेपालको लागि समूहिक लगानी विषयमा आफ्ना धारणा राख्ने एनआरएन यूकेले जनाएको छ ।

सो कार्यक्रमलाई सफल पार्न शेर सुनारको संयोजकत्वमा एक उपसमिति समेत गठन भएको छ ।

संघको नेतृत्व सम्हालेपछि भट्ट एनआरएन यूकेको निमन्त्रणामा पहिलो पटक यूरोप भ्रमणमा निस्केका हुन् । कार्यक्रम संयोजक सुनारले गर्भनर नेपाल र भट्टको भ्रमणले सामूहिक लगानीको वातावरण बनाउन फलदायी हुने अपेक्षा गरे ।

महासचिव त्रिपाठीले एनआरएन यूकेको निमन्त्रणालाई स्वीकार गरि राष्ट्र बैंकका गर्भनर, एनआरएन अध्यक्ष र सफल व्यवसायी चन्द्र ढकाल समेत वेलायत आउदा संघ गरिमा उच्च हुने बताए ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामी तथा सामूहिक लगानी सम्बन्धि उपसमितिका संयोजक गंगा रानाले अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने सो अन्तरक्रिया कार्यक्रममा उपस्थित भइदिन बेलायतस्थित नेपाली समूदायलाई सामूहिक अपिल गरेका छन् ।