हर्षोल्लासका साथ मनाइयो ‘तमुधिं यूकेको १७ औं ल्होछार [फोटो फिचर]

  • शिव भण्डारी

लन्डन- तमु धिं यूकेले हरेक वर्ष जस्तै यसपटक पनि आफ्नो १७ औं ल्होसार विशेष कार्यक्रम भब्य रुपले मनाएको छ ।

तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा सातसय भन्दा बढी सहभागीबीच १७ औं ल्होछार कार्यक्रम गरेको हो । कार्यक्रममा युकेमा रहेमा विभिन्न पेशाकर्मी र व्यवसायीहरुको समेत उपस्थिति थियो ।

तमुहरूको मौलिक पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने भेषभूषा र नाचगान प्रदर्शन गरियो । नेपालबाट आएका कलकारहरू मेलिना राई, नायक नरजंग गुरुङले आ-आफ्नो प्रस्तुति दिए भने विभिन्न तमुधिं इकाईले आफ्नो मौलिक नाच देखाएका थिए ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले विविधतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै  गुरुङ संस्कार र संस्कृतिले नेपाल र नेपालीको पहिचान अनि प्रतिष्ठा विश्वभर बढाएको धारणा राखे ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले अतिथिहरुलाई सम्मान गर्दै ल्होसारले गुरुङ समुदायमा नयाँ संवतको सुरुवात गराउँछ यस महान अवसरमा तमुधिं यूकेको १७ औं ल्होछार एबं नया बर्ष २०१८ को सुभकामना समेत दिन पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा वेलायतमै रहेका कलाकारहरु बिमाकुमारी दुरा, गायक धन गुरुङ, गायिका मन्जु विक र नायिका अश्मी गुरुङले समेत आआफ्नो प्रस्तुती दिए । उक्त अवसरमा जीसीएसई, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न पुरस्कार तथा अवार्ड प्रदान गरियो ।

सो अवसरमा राजदूत सुवेदी, विशेष अतिथि रेडिङ बरोका डेपुटी मेयर ग्लेन डेनिस, तमुधिं यूके अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष मीन गुरुङले कार्यक्रम उद्घाटन गर्दै ‘फ्रेन्सीं’ पत्रिका विमोचन गरेका थिए ।

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा संयोजक एवं तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले तयारी र अन्य विषयमा बोलेका थिए । कार्यक्रममा तमुधिं यूकेका विभिन्न इकाइले नृत्य प्रस्तुत गरे । सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, योगेश गुरुङ, गौमाया गुरुङ र निलम गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, नेपाली दूतावासका प्रवक्ता शरदराज आरण, एनआरएन यूकेका अध्यक्ष योग फगामी, नेपाल पत्रकार महासंघ वेलायतका अध्यक्ष नरेश खपांगी, सोलिसिटर राजु थापा, व्यवसायी रवि लामिछाने, लगायत सातसय भन्दा बढी सहभागी भए । धार्मिक पूजाको लागि गुप्ती गुरुङ, से नाम्खा दोर्जे गुरुङ, खेम्पो छेवांग घले, खेम्पो भजेन्द्र शिला , जनता गुरुङ लगायतका लामा धर्मगुरुहरुले विभिन्न धार्मिक पूजा, ग्रहशान्ति गरेका थिए ।

गुरुङ समुदायले पुरानो च्ह्य ल्हो (चरा वर्ग) को बिदाइ र नयाँ खी ल्हो (कुकुर वर्ग) को स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार मनाएका छन् ।
ल्होसारले गुरुङ समुदायमा नयाँ संवत्को सुरुवात गराउँछ । यही दिन आफ्नो गुरु प्रथम महापुरुषको जन्म भएको हुनालेसमेत गुरुङ समुदायले यो चाड मनाउँछन् । गुरुङ शास्त्रमा चरा र जनावरको नामबाट नामकरण गरिएका १२ वर्गको विशेष महत्त्व रहन्छ ।