एनआरएनए युकेमा मनोनित ५ सदस्यले खाए सपथ'[हेर्नुस भिडियो]

शिव भण्डारी
लन्डन– एनआरएनए यूकेको सातौं कार्यसमितिमा मनोनित ५ जना को -अप सदस्यहरुलाई एक कार्यक्रम बीच स्वागत गरेको छ ।

अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सोमबार बेलुकी फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो।

एनआरएनए यूकेको पहिलो बैठकले गौमाया गुरुङ, महेश गिरी,राजन खकुरेल, मनिस खड्का,र डा. दिलिप यादवलाई कार्यसमितिको सदस्यमा मनोनयन गरेको थियो ।

मनोनित सदस्यहरुलाई एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी लगायत पूर्व अध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री लगायत कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुले स्वागत गरेका थिए । सो अवसरमा कार्यक्रममा अध्यक्ष फगामीले मनोनित सदस्यहरु गौमाया गुरुङ, महेश गिरी, मनिस खड्का र राजन खकुरेललाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट__-
कार्यक्रममा पेशाले एकाउन्टेन्ट समेत रहेका मनोनित सदस्य महेश गिरीले कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता गरेका थिए भने स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका अर्का सदस्य राजन खकुरेलले कार्यसमितिलाई सक्दो सहयोग गर्ने बताए । त्यस्तै, रेष्टुरेण्ट व्यवसायी समेत रहेका मनिस खड्काले अग्रजहरुको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने जनाए भने सन् २०११ सालमा मिस युके नेपालको उपाधी बिजेता समेत रहेकी मनोनित सदस्य गौमाया गुरुङले युवाहरुलाई संगठित गर्न आफुले पुलको रुपमा काम गर्ने बताईन् ।

एनआरएनए युकेका पूर्व अध्यक्ष एंव संरक्षक सूर्य गुरुङको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि योगेन क्षेत्रीले अध्यक्षको भिजनलाई साथ दिदै अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए । त्यस्तै, प्रमुख अतिथि गुरुङले एनआरएनए, नेपाल र नेपालीहरुका लागि धेरै काम गर्न सकिने संस्था भएको हो भन्दै एनआरएनए र युवाहरुसंगको सम्बन्ध टाढिदै गएको अवस्थामा युवाहरुसंग भएको सीप र क्षमतालाई नेपालको बिकासमा कसरी लगानी गर्ने भन्ने बिषयमा चिन्चित भएमा युवाहरु स्वतःस्फुर्त रुपमा सहभागी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष फगामीले नयाँ सदस्य सबैलाई धन्यवाद दिदैं, ‘काम गर्ने समय थोरै छ, सबैको सल्लाह र सुझावका साथ छिटो अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व नेपाल प्रहरी मञ्चका अध्यक्ष वाचस्पति रेग्मी, नेपाली जनसम्पर्क समितिका महामन्त्री प्रवेश केसी, एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, ललित न्यौपाने, प्रेम गाहा मगर, पुनम गुरुङ, पूर्व उपाध्यक्ष थर्क सेन, सदस्य गंगा राना, मुकेश राना र होमनाथ पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले संचालन गरेका थिए ।