इटलीमा सन् २०१२ मा भएको एउटा पानी जहाज दुर्घटनामा अदालतद्वारा दोषी पाईएका जहाजका कप्तानले १६ वर्ष जेल सजाय पाएका छन्।

उनीमाथि यात्रुहरुको ज्यान लिएको आरोप लगाईएको थियो। सन् २०१२ मा कोस्टा कोन्कोर्डिया जहाज चट्टानसंग ठोकिएर डुब्ने बेला कप्तान फ्रान्चेस्को स्केट्टिनोले त्यसको कमाण्ड सम्हालेका थिए,उक्त दुर्घटनामा ३२ जना यात्रुको ज्यान गएको थियो। कप्तानमाथि समुद्र तटको धेरै नजिक जहाज लगेको र यात्रु तथा चालक दलका सदस्यहरु जहाजभित्रै रहिरहँदा अलपत्र छोडेको आरोप लगाईएको थियो। स्केट्टिनोले ती आरोपहरु अस्वीकार गर्दै आएका छन् र आफूलाई बलिको बोको बनाईएको बताएका छन्। उनका वकिलले चालक दलकै सामूहिक असफलता भएको भन्दै त्यसको जिम्मा सबैले लिनुपर्ने बताए।
ग्रोस्सेटो शहरस्थित एउटा अदालतमा न्यायाधीशले सजाय सुनाउने बेला स्केट्टिनो त्यहाँ उपस्थित थिएनन्।
कप्तान फ्रान्चेस्को स्केट्टिनोले फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिने बताईएको छ
५४ वर्षीय जहाज कप्तान स्केट्टिनोले अदालतको उक्त आदेशको पुनरावलोकनका लागि निवेदन दिने अपेक्षा गरिएको छ। यसअघि उनले १९ महिना पुरानो मुद्दाको सुनुवाईको अन्तिम दिन न्यायाधीशसमक्ष निकै भावुक भएर अपील गरेका थिए। विगत तीन वर्षदेखि सञ्चारमाध्यमहरुले आफूमाथि एकहोरो रुपमा क्रुर ढंगले अन्याय गरेको अदालतलाई भनिरहँदा स्केट्टिनो रोएका थिए।
उनले भने, “सत्यको कुनै सम्मान नगरी वा पीडितहरुलाई नसमझी सबै जिम्मेवारीहरु ममाथि मात्र लादिएका छन्।”
अभिययोजनकर्ताले २६ वर्ष जेल सजायको माग दाबी गरेपनि अदालतले धेरै जनाको ज्यान लिएको अभियोगमा १० वर्ष, जहाजमा क्षति पुर्याएवापत पाँच वर्ष र यात्रुहरुलाई अलपत्र छाडेकोमा एक वर्ष गरी १६ वर्ष जेल सजाय सुनाएको छ।






