दोस्रो चरणको मनोनयन आज

काठमाडौं– आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन बिहीबार हुँदैछ।

निर्वाचन आयोगको घोषणा गरेको कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो।

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ।

उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समयसीमा तोकिएको छ।