झापामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

झापा। झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अरु दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन् । अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार बिहानैदेखि बिर्तामोड क्षेत्र तनावग्रस्त बन्दै आएकोमा अपराह्न स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

कर्फ्यु उल्लंघन गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीचौकीमा आगजनी गर्ने तथा सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।

प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरीसमेत घाइते भएको पनि प्रहरीको दाबी रहेको छ ।