एनआरएनए अध्यक्ष भट्टको कम्पनीलाई तामाकोसी– ३ को लाइसेन्स

कानुनविपरीत टीबीआई होल्डिङ कम्पनीलाई लाइसेन्स दिएको आरोप

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचत अध्यक्ष भवन भट्टको टीबीआई होल्डिङ कम्पनीलाई ऊर्जा मन्त्रालयले ६ सय ५० मेगावाट क्षमताको तामाकोसी–३ जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै ऊर्जा मन्त्रालयको कार्यभारबाट हटाएर बिनाविभागीय मन्त्री बनाइएका महेन्द्रबहादुर शाहीको दबाबमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले उक्त कम्पनीलाई सर्वेक्षण लाइसेन्स दिएको स्रोतको दाबी छ ।

ऊर्जा मन्त्रालयले तामाकोसी तेस्रोको लाइसेन्स दिँदा लगानी बोर्ड ऐनको ठाडो उल्लंघन गरेको छ । उक्त ऐनमा ५ सय मेगवाट वा त्यसभन्दा ठूला जलविद्युत् परियोजनाको लाइसेन्स लगानी बोर्डले मात्र दिन सक्ने व्यवस्था छ ।

भट्ट एनआरएनएको सम्मेलनमा आएकै बेला उनको कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको थियो । आवेदन दिएको एक साता पनि नपुग्दै मन्त्रालयले कम्पनीलाई सर्वेक्षण लाइसेन्स दिएको हो ।