नेपाल सम्वत् ११३८ को शुभकामना
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल सम्वत्को नयाँ वर्ष ११३८ को अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै ओलीले नेपाल सम्वत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गर्नुभयो । ‘नेपाल एउटा मौलिक सँस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल सम्वत् पनि हो । यो सम्वत् नेपालको मौलिक सम्वत् हो,’ उहाँले भन्नुभएको छ, ‘नेपालको सम्वत्को यो नयाँ वर्ष मनाइ रहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।’
नेपाल सम्वत् कुनै जाति वा समुदाय विशेषको मात्र नभएर सम्पूर्ण नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालीहरु सँस्कृतिका धनी छौं । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।’
अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डाहरुलाई स्थापित गर्न सहयोगी हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘त्यसैले यस निर्वाचनमा सबै जाति,सँस्कृति र सम्प्रदायको हितमा काम गर्न सक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पुर्याउनु हुनेछ भन्ने विश्वास पनि मैले लिएको छु,’ उहाँको भनाइ छ ।






