- शिव भण्डारी
काठमाडौं– एनआरएनएका वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङले महाधिवेशनको दुई दिनअघिमात्रै बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गरिन् ।
काठमाडौंको पाँचतारे होटल र्याडिसनमा भएको उम्मेदवारी घोषणामा बहालावाला अध्यक्ष घले पनि उपस्थित थिए । प्राय: बहालवाला नेतृत्व कुनै पनि समूहको उम्मेदवारी घोषणा र चुनावी प्रचारमा खुलेर लाग्दैनन् । तर, घले पनि अध्यक्ष नभई एनआरएन अभियन्ताकोरुपमा आफू उपस्थित भएको बताउँदै थिए ।
गुरुङले विगत लामो समयमा हुन नसकेको काम घलेको कार्यकालमा भएको उल्लेख गर्दै ती काम पूरा गर्न आफू उम्मेदवार भएको बताउँदै उम्मेदवारी घोषणा गरिन् । यसअघि भवन भट्टले मात्रै औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । टीबी कार्कीको नाम आए पनि उनले औपचारिक घोषणा गरेका छैनन् ।
गुरुङले आफ्नो मन्तव्य सकेपछि कार्यक्रम बिसर्जन हुने बेलामा एक्कासी डायसमा पुगेका घलेले पत्नीका लागि भोट मागेनन्, बरु आफू एकाएक इमोसन (भावुक) भएको बताए ।
आफूलाई जीवा लामिछानेले एनआरएन नेतृत्वका लागि प्रस्ताव गरेर अभियानमा सरिक रहेको बताउँदै उनले अहिले सुरु गरेका काम पूरा गर्न जमुना उम्मेदवार भएको उल्लेख गरे । संक्षिप्त भाषणमा उनले भनेका थिए, ‘तातो दुध निल्नु न ओकल्नु भएको छ ।’






