काठमाडौं– गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिने भएका छन् ।
संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको पन्तले बताएका छन् । ग्लोबल सम्मेलनको ९ दिनअघि विज्ञप्ती जारी गर्दै पन्तले कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाई अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले उपाध्यक्ष पदमै निरन्तरताका लागि सोही पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकृत गर्दै लगेको छ। यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भई अघि बढ्नु जिम्मेवार ठर्हछ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरुको अन्तक्र्रियापछि मैले आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु ।’
अग्रज एनआरएनहरूको समर्पण एवं मैत्री भाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै आफ्नो समय संगठनको उचाई र श्रीवृद्धिमा लगाउनुलाई कर्तव्य ठानेको उल्लेख गरेका छन्। ‘सन् २०१५—२०१७ को कार्यकाल मेरा लागि विश्वका सबै अन्र्तराष्ट्रिय समन्वय समितिका साथीहरुसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरु बुझ्ने मौकाको रुपमा रह्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष पदलाई निरन्तरता दिँदै सबै विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको एउटै मालामा जोड्न चाहन्छु।’






