गोरखपुरमा भयानक सवारी दुर्घटना, सात नेपालीको मृत्यु

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित महराजगञ्ज ज‍िल्लाको पुरन्दरपुर इलाकामा शुक्रबार भएको एक भयानक दुर्घटना कम्तिमा सातजना नेपालीले ज्यान गुमाएका छन् ।

गोरखपुरबाट सुनौली नाका हुँदै भैरहवातर्फ गइरहेको भारतीय नम्बर प्लेटको एउटा कार र तेल ट्यांकर एकापसमा ठोक्किँदा चार बालबालिकासहित सात नेपालीको ज्यान गएको हो ।

शुक्रबार दिउँसो सवा २ बजे भएको यो भयानक दुर्घटनाका क्रममा ट्यांकरसँग ठोक्किएको कार उछिटिएर ५० फिट तल खसेको थियो ।
यो घटनामा चारजना गम्भीर घाइते भएका छन् । घाइते भएका चारैजनालार्इ गोरखपुरकै एक अस्पतालमा भर्ना गरिएको छ । यि मध्ये सबैको अवस्था गम्भीर रहेको समाचार भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि प्रहरी उद्दारका लागि घटनास्थलमा पुगेको थियो । त्यसक्रममा पुलिस सबै शवलार्इ घटनास्थलबाट निकालेको थियो । ट्यांकरसँग जुधेको कार टुक्रा टुक्रा भएको छ ।

यो ट्यांकर नेपालमा तेल खन्याएर सुनौलीबाट गोरखपुरतर्फ गइरहेको थियो । अर्कातिर जायलो कार गोरखपुरबाट सुनौली तर्फ गइरहेको थियो । यसैक्रममा गोरखपुर-सुनौली राष्ट्रिय राजमार्गमा ठुलो आवाजका साथ यी दुर्इ साधन जुधेका थिए ।

मृतकमध्ये धेरैको शरीर टुक्रा टुक्रा भएको छ । कसैको टाउको र शरीरसमेत छुट्टिएको छ । कारमा सवार रहेका र मृतकहरू सबै नेपाली नागरिक नै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार अर्को गाडीलार्इ जोगाउने क्रममा तीब्र गतिको ट्यांकरले सिधै यात्रु बोकेको कारलार्इ ठक्कर दिएको थियो ।

मृतक नेपालीहरूको पहिचान हुन भने बाँकी रहेको छ । गोरखपुर पुलिसले मृत्यु भएका नेपालीहरूको पहिचान खुलाउने काम गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा संलग्न ट्यांकर चालकलार्इ पुलिसले हिरासतमा लिएको छ ।