प्रधानमन्त्री आज भारत जाँदै

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली टोलीको नेतृत्व गर्दै बुधबार बिहान भारत प्रस्थान गर्दै छन् । वर्तमान दलीय गठबन्धनका अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण गरेको एक वर्ष नपुग्दै उनी सद्भावना भ्रमणमा भारत जान लागेका हुन् । प्रधानमन्त्रीको टोली ५९ सदस्यीय रहने मंगलबार साँझसम्म टुंगो लागेको छ ।

भ्रमणका क्रममा चार भिन्न क्षेत्रका सात समझदारी हुने तयारी छ । भूकम्पपछिको पुनर्निर्माणका विषयमा चार समझदारी हुनेछ भने मेचीमा पुल निर्माण, गुणस्तरमा मान्यता र लागूऔषध ओसारपसारमा नियन्त्रण गरी अन्य तीन समझदारी हुने परराष्ट्रका एक अधिकारीले बताए । पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि पीडितको घर पुनर्निर्माणमा १० अर्ब तथा स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रमा पाँच/पाँच अर्ब रकम उपलब्ध गराउनेबारे समझदारी हुने संलग्न अधिकारीले बताए । चार मन्त्री सहभागी हुने भ्रमण टोलीमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी गोविन्द पोखरेल पनि छन् ।

यस्तै, दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच समझदारीपछि नेपाली गुणस्तर चिह्न पाएको सामान भारतमा पनि मान्य हुनेछ । पशुपति क्षेत्र पुनर्निर्माणका लागि सहयोग गर्ने विषय टुंग्याउन नेपाली पक्षले जोड गर्नेछ । लुम्बिनीमा निर्माण गर्ने सभागृहका लागि पनि भारतले सहयोग उपलब्ध गराउने छ ।

लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल, पूर्व–पश्चिम रेल परियोजना निर्माण, हवाई रुट थप, हुलाकी सडकको सहयोग र अन्य राजमार्ग विस्तारलगायत दर्जनौं विषयमा पनि छलफल हुनेछ ।

भारतका कारण विवादित कालापानी र सुस्तालगायत नेपाली भूभागका विषयमा समेत छलफल हुने अधिकारीहरूले बताए । भारतले प्रस्ताव गर्दै आएको सुपुर्दगी सन्धिलगायत विषयमा पनि छलफल हुनेछ । सीमा क्षेत्रमा भारतले बनाएको सडक र बाँधले लामो समयदेखि तराईमा नेपाली भूभाग डुबानमा परेको विषयमा प्रधानमन्त्रीले गम्भीर छलफल गर्ने सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । कोसीको बाढीमा परेर क्षति ब्यहोरेका नेपालीलाई भारतले सन् २००९ मै उपलब्ध गराउने भनिएको सहयोगबारे पनि छलफल हुनेछ ।

कटैया–कुसाहा १३२ केभी प्रसारण लाइनको शुभारम्भ गरिने तयारी छ । नेपाललाई उपलब्ध गराउने बिजुलीको दुवै मुलुकका प्रधानमन्त्रीले स्विच थिचेर शुभारम्भ गर्नेछन् ।