साउथ ह्यारो गोल्डेन सिपमा ‘मनको बाबरी’ प्रदर्शन हुँदै

लन्डन । सामाजिक कुरीति एवं कुसंस्कार विरुद्धको फिल्म ‘मनको बाबरी’ बेलायतमा प्रदर्शन हुने भएको छ । आगामी अगष्ट २० तारिख साँझ ५ बजे गोल्डेनसिप रेस्टुरेन्टमा फिल्म प्रदर्शन हुने आयोजक देव गुरुङले जानकारी दिए ।
यसै बीच विभिन्न नेपाली परिकार पाक्ने र सभा सेमिनार पार्टी हल समेत रहेको राम्रो सेवाका कारण नेपालीहरुको मन जित्दै आएको लन्डन साउथ हयारोस्थित गोल्डेन सिप रेस्टुरेन्टको सभाहलमा हुने प्रदर्शनमा अध्यधिक दर्शकको अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।
माओत्से गुरुङ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त फिल्म यसअघि अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको हो। निर्माता एवं नायिका एन्सर्ज गुरुङले आफ्नो फिल्म सन्देशमूलक रहेको दाबी गर्दै सबै नेपाली फिल्मलाई माया गरिदिन अनुरोध गरिन्। कार्यक्रममा चलचित्रकर्मी, गीतकार एकेन्द्र गुरुङले ‘मनको बाबरी’ ले सामाजिक सन्देश बोकेको चर्चा गरे। फिल्मले नेपाली भाषा, कला र संस्कृति संरक्षण सम्बर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै सबैले स्वदेशी फिल्मलाई माया गर्नुपर्ने बताए।
स्याङ्जा जिल्लाको पेल्काचौर गाउँमा छायांकन गरिएको उक्त फिल्ममा गाउँले परिवेश, गरिबी, अभाव, अन्धविश्वास, विदेशी सेनामा भर्ना हुने संस्कार, माया, प्रेम, हास्य र नेपाली समाजमा विद्यमान सामाजिक कुरीति तथा कुसंस्कारलाई कथावस्तु बनाइएको छ। माओत्से गुरुङको कथा र निर्देशनमा बनेको फिल्ममा एन्सर्ज गुरुङ, गमन घले, राजु गुरुङ, डीबी गुरुङ, एनबी गुरुङ, सीतादेवी गुरुङ, बिनु गुरुङ, सोनी गुरुङ, केदारनाथ पौडेललगायत कलाकारहरूको अभिनय छ। यसअघि ‘मनको बाबरी’ पोखरा र काठमाडौंमा प्रदर्शन भइसकेको छ।