शिव भण्डारी लन्डन– रियलस्टेट, टेलिकमलगायतमा ठूलो लगानी गरेका नेपालका सफल व्यवसायी अजेयराज सुमार्गी पराजुली यूकेमा सार्वजनिक मञ्चमा उभिएका छन् । नेपालमासमेत सार्वजनिक कार्यक्रमहरुमा खासै नदेखिने सुमार्गीले बेलायतको नेपाली समूदायका अगुवाहरुको उपस्थितिबीच आफ्नो बाल्यकाल र सफलताका सुत्रहरु पनि खुलाए । १३ वर्षको उमेरमा काठमाडौंको झोंसेमा बिताएको बाल्यकालदेखि सफल व्यक्तिको पछाडि कुरा काट्नेहरु धेरै भेटिने भन्दै उनले आफूविरुद्ध हुने गरेका टिप्पणीबारे पनि अप्रत्यक्ष धारणा राखे । १३ वर्षको उमेरमा उनले बुवा गुमाएका थिए । बेलायतमै रहेका विष्णु शर्मासँग आफ्नो बुवाले ‘निर्मल’ साप्ताहिक पत्रिका निकालेकोसमेत उनले सम्झना गरे । सुमार्गीले व्यक्तिका सफलताहरु अलग अलग हुने बताउँदै भने, ‘सबैको संघर्षको इतिहास आफैंमा गरिमामय हुन्छ, सफलता पनि हात पर्यो भने चर्चा र परिचर्चाको विषय हुन्छ ।’ उनले यसो पनि भने, ‘स्याउ त हिजो पनि खसेको थियो, भोलि पनि खस्छ तर आइन्स्टाइन त जन्मँदैनन् नि ।’ नेपाल कसैको पनि स्थायी बासस्थान नरहेको बताउँदै भने, ‘नेपाल आफैं ट्राफिक जोन हो ।’
बेलायतमा आएका नेपालीहरु भागेर वा सहजताका लागिमात्रै नआएको बताउँदै चलायमान हुनु मानवको नियम नै भएको उल्लेख गरे । सुमार्गीले कुनै पनि मुलुकमा वास्तविक कम्युनिष्ट व्यवस्था नआउने रोचक प्रसंग पनि सुनाए । ‘म साँच्चिकै कम्युनिष्ट साथीहरुलाई यही भन्छु जबसम्म जिब्रो रहन्छ तबसम्म कम्युनिष्ट व्यवस्था आउँदैन,’ रक्सीको उदाहरण दिंदै उनले भने, ‘कम्युनिष्ट साथीहरु एउटा रक्सी छ भने गरिब र धनीले त्यही खानुपर्छ भन्छन्, कसैलाई खान पनि मन नलाग्ला नि ।’ सुमार्गीले आफ्नाविरुद्ध भएका हल्लालाई यसरी प्रष्ट पारे, ‘हामी मकै रोप्छौं, धान पनि रोप्छौं तर घाँस रोप्छौं ? रोपिंदैन । घाँस आफैं उम्रन्छ । बरु त्यसलाई गोडमेल गर्नुपर्छ । त्यकारण मेरा बारेमा, अरुका बारेमा घाँसहरु आउँछन्, मिहिनेत चाँही गर्नैपर्छ । जसले पन्छाउँछ जीवनको यात्रा र बाटो तय गर्छ, जसले पन्छाउँदैन उ त्यहीं बस्छ, रुमलिन्छ ।’ सुमार्गी हाल परिवारसहित यूरोप भ्रमणमा रहेका छन् ।
कार्यक्रममा एनआरएन यूरोप संयोजक कुल आचार्यसहित , एनआरएन प्रवक्ता रञ्जु थापा ,राजु थापा,विश्व पण्डित, कृष्ण भट्ट, विजन भट्ट, चिरञ्जीवी ढकाल, रामशरण सिंखडा,कृष्ण तिमल्सेना, अमृत खरेल, विराज भट्ट, राजेन्द्र पुडासैनी, कमल पौडेल, आरती श्रेष्ठ, ध्रुव केसी, रोशन सापकोटा, बीपी खनाल, सुरेशजंग शाह, रोहित गुरुङ, ध्रुव केसी, हरि थापा, सुरेश गौतम, डा. कपिल रिजाललगायत करिब १०० जना भन्दा बढीकोको उपस्थिति थियो । यसैगरी पत्रकारहरु भागीरथ योगशी, नविन पोखरेल, चिरन शर्मा, श्याम लुइँटेल, शिव भण्डारी, वाचस्पती रेग्मी, वीरेन्द्र श्रेष्ठ, नारायण गाउँलेलगायतको उपस्थिति थियो ।कार्यक्रम संयोजन गरकोमा सुरेन्द्र श्रेष्ठ लाइ उपस्थित सबैले धन्यवाद समेत ज्ञापन गरे।
यसैबीच सुमार्गीको पुस्तक सेप्टेम्बर १३ तारिखमा अल्डरसटको एम्पायर हलमा विमोचन हुने भएको छ । नेपालमा सामाजिक गतिविधिमा स्थापित लक्ष्मी प्रतिष्ठानको सहयोगका लागि बेलायतमा पनि उक्त पुस्तक विमोचन गरिने प्रतिष्ठानका यूरोप संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । पुस्तकमा चौध वर्षको उमेरमा बाबु गुमाएका सुमार्गी मुलुकका सफल उद्यमी एवम् व्यवसायीका रुपमा कसरी स्थापित भएभन्ने रोचक र वास्तविक जीवनगाथा छ ।
अजेयराजका जीवनका आरोह–अवरोह र जीवन संर्घष समेटेर उनका भाइ अरुणराज सुमार्गी र निर्मल थापाले पुस्तक लेखेका हुन् । उक्त पुस्तकमा सुमार्गीका बारेमा कीर्तिनिधि विष्टलगायतका व्यक्तित्वका भनाइ समेटिएको छ । योगी नरहरि नाथ, डा के आई सिंह, रुपचन्द विष्टलगायतको सान्निध्य र मार्ग निर्देशमा अजेयराजले हासिल गरेका सफलता र त्यस निम्ति उनले गरेको संघर्ष पुस्तक विस्तारमा उल्लेख गरिएको छ ।






