१९ करोड ३३ लाखमा रक्षा मन्त्रालयको नयाँ भवन बन्ने

काठमाडौं– रक्षा मन्त्रालयको नयाँ भवन बन्ने भएको छ । ०७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य भवन प्रयोग गर्न नमिल्नेगरि क्षति पुगेपछि मन्त्रालय भवन बिहिन थियो ।
बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउबाले सिंहदरबारको दक्षिण पश्चिममा रहेको नेपाली सेनाको क्याबलरी (घोडा स्याहार केन्द्र ) गुल्म रहेको स्थानमा रक्षा मन्त्रालयको नया भवन निर्माणको शिलान्यास गरेका हुन् ।
बेसमेन्ट र कौसी भाग बाहेक ५ तलाको हुने नयाँ भवन ५९४७.१६ वर्ग मिटरमा बन्ने भएको छ । २०७७ असारमा निर्माण सम्पन्न गर्ने गरि डाँफे समानान्तर जेभीले ठेक्का पाएको यो भवनको लागत १९ करोड ३३ लाख ४ हजार रहेको छ ।
१०५ वटा कोठा रहने भवन भुकम्प प्रतिरोधी हुनुका साथै अग्नि निरोधक प्रणाली जडान भएको हुनेछ । शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउबाले भवन निर्माणमा आर्थिक अनुशासनको पालना र तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।
निर्माण हुने भवन अपाङ्ग मैत्री, प्राकृतिक बतानुकुलित र लिफ्ट सहितको हुनेछ । भुकम्प पछि आफ्नो भवन नहुँदा मन्त्रालयले सिंहदरबारभित्र रहेको राष्ट्रिय सुरक्षा परिषद्को भवनमार्फत काम गदै आएको छ । मन्त्रालयको दैनिक कार्य संचालन हुदै आएपनि पर्याप्त कोठा र कार्यालय सुविधा नहुँदा काम प्रभावित हुदै आएको छ ।