चार बालिकाको ज्यान लिएको रौतहट घटनाबारे संसदमा हंगामा

काठमाडौं- व्यवस्थापिका– संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले व्यवस्थापिका– संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिनुभयो । बैठकमा नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गर्नुभयो ।

उहाँले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटक–पटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँदै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गर्नुभयो । देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।

सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आआफ्नो आसनबाट उभिनुभएको थियो ।

विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आआफ्ना आसनमा बस्नुभएपछि बैठक सञ्चालन भएको थियो ।