नेपालका उपराष्ट्रपतिको सल्लाहकार भन्दै भारतमा राज्यको पाहुना बनेर मेजमानी !

जयपुर– अपराधीको सूचीमा दर्ता भएको एक व्यक्तिले आफू नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको झुठो दाबी गर्दै जयपुरको शिकरमा राज्यको पाहुनाको रुपमा मेजमानी पाउन सफल भएका छन् । ती ठगले राजस्थान प्रहरीलाई समेत झुक्याउन सफल भएका हुन् ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार प्रहरीले यसरी ठगी गर्ने महाविर प्रसाद तोर्दीविरुद्ध कोतवाली प्रहरी थानामा उजुरी समेत दर्ता गरेको छ ।

‘तोर्दीले इमेलबाट हामीलाई उनी नेपालको उपराष्ट्रपतिको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको र राज्यको पाहुना भएको बताएका थिए,’ प्रहरीले भनेको छ, ‘हामीले इमेल गत जुलाई २८ मा प्राप्त गरेका थियौँ जसअनुसार हामीले जुलाई ३० मा उनको मेजमानीको व्यवस्था गरेका थियौँ ।’

‘पछि जब हामीले उनको दाबीलाई पुष्टि गर्ने प्रयास गर्यौँ, तब सामन्य प्रशासन शाखा (जिएडी) ले त्यस्तो कुनै निर्देशन जारी नगरेको बतायो,’ शिकरका एएसपी तेजपाल सिंहले भने ।

जिएडीका डेप्युटी चिफ प्रोटोकल अफिसर राजिव जैनले भने, ‘हामीले टोर्डीका लागि राज्यको पाहुनाको रुपमा कुनै पनि निर्देशन जारी गरेका छैनौँ ।’

यता, जयपुरकै कर्नी विहार प्रहरी स्टेसनले तोर्दीको नाम अपराधीको सूचीमा पनि रहेको पुष्टि गरेको छ ।

‘उनीमाथि कर्नी विहार प्रहरी स्टेसनमा बलात्कार, दाइजो लिएको र हत्याको प्रयास गरेको मुद्दा दर्ता छ,’ स्टेसन हाउस अफिसर श्रीराम चौधरीले भने ।